२३ असार २०८३, मंगलबार
कांग्रेसको आन्तरिक शक्ति संघर्ष

शेखरसँग नजिकिएका खाँणको देउवासँग कस्तो छ सम्बन्ध ?

चैत ४, २०८१
काठमाडौं
शेखरसँग नजिकिएका खाँणको देउवासँग कस्तो छ सम्बन्ध ?

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा लागेपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पछिल्लो समय डा. शेखर कोइराला समूहमा खुल्न थालेका छन् । 

कुनै समय खाँण सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिन्थे । 

तर, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणको मुद्दामा पक्राउ परेयता देउवासँग उनको सम्बन्ध चिसिएको थियो ।

त्यसरी चिसिएको सम्बन्ध खाँण धरौटीमा रिहा हुँदा पनि नसुध्रिएको नेताहरू बताउँछन् । 

खाँण समातिँदा कांग्रेस पनि सरकारमै थियो । तर, आफूलाई पक्राउ गर्नबाट नरोकेको भन्दै पूर्व गृहमन्त्री खाँण देउवासँग असन्तुष्ट बनेका थिए ।

अर्कातिर फेरि महाधिवेशनमा सभापतिमा उठ्ने तयारी गरेका शेखर भने खाँणको बचाउमा उत्रिए । पक्राउ परेपछि अन्य नेताले बेवास्ता गरे पनि शेखरले जेलमै पुगेर ढाडस दिइरहे ।  

उनी २०८० मंसिर २८ गते ३० लाख धरौटीमा रिहा भएका थिए ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध पुनरावेदन दिएपछि खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गरेको हो ।

आफूलाई जेलमा पटक–पटक भेट्न आएका शेखरप्रति उनी नरम देखिएका छन् । रूपन्देहीमा कार्यक्रम राखेर शेखरसँग मञ्च पनि शेयर गरिसकेका छन् । यतिमात्रै होइन, फागुन १८ गते तिलोत्तमामा भएको कार्यक्रममा त खाँणले अब ‘डाक्टर’लाई साथ दिने भनेर घोषणा नै गरे । 

‘जसले देश चलाउन सक्छ, जसले पार्टी चलाउन सक्छ, उसैलाई साथ दिने हो,’ सूचना तथा सञ्चार विभागले गरेको कार्यक्रममा खाँणले भनेका थिए, ‘त्यो अब डाक्टरहरूले गर्नुहुन्छ, पढेर डाक्टर हुन सकिएन, उमेरले थेग्दैन, तर २ डाक्टर (कार्यक्रममा सहभागी डा. शेखर कोइराला र डा मीनेन्द्र रिजाल) को संगतचाहिँ गर्छु ।’ 

खाँणले खुलेर देउवाप्रति कुनै लाञ्छना लगाएका छैनन् । तर, आफूलाई गम्भीर मुद्दा लाग्नुअघि पार्टी नेतृत्वले बचाउमा सामान्य कसरत पनि नगरेकोमा चित्त दुखाएको उनीनिकट स्रोत बताउँछ । 

यस्तै असन्तुष्टिपछि खाँणले देउवा समूह (संस्थापन) छाड्ने आकलन भइरहेको छ । सहमहामन्त्री एवं उनीनिकट नेता महेन्द्र यादवले खाँण अहिलेसम्म पार्टी संस्थापनमै रहेको दाबी गरे । 

null

‘खाँण दाइ पहिले जहाँ हुनुहुन्थ्यो, अहिले पनि त्यहीँ (संस्थापनमा) हुनुहुन्छ । उहाँले समूह परिवर्तन गरेको भनेर पत्रपत्रिकाले लेखेका मात्रै हुन्,’ यादवले लोकान्तरसँग भने, ‘पार्टी एउटै हो । सबै नेतासँग कुराकानी हुनुपर्छ । उठबस हुन्छ । यो पार्टी राजनीति गर्नेहरूका लागि स्वाभाविक हो ।’

कांग्रेसमा कोइरालाहरूको योगदान रहेकैले खाँणले प्रशंसा गरेको यादव बताउँछन् । 

‘कांग्रेसमा कोइरालाहरूको योगदान कसैले काट्न सक्दैन । त्यसैले योगदानको चर्चा गर्नु पोजेटिभ कुरा हो,’ यादवले भने, ‘खाँण दाइले कोइरालाहरूको कुरा गरे पनि सभापतिसँग सम्बन्ध बिगार्नुभएको छैन । बेलाबेलामा सभापतिलाई भेट्न जानुभएको छ ।’ 

अर्कोतिर शेखर र महामन्त्री गगन थापाले १५ औं महाधिवेशनको तयारी गरेको भन्दै खाँणसहितका नेता देउवालाई भेट्न पुगेका थिए । औपचारिक भेटघाटका लागि यसरी नेताहरू पुग्नुबाहेक खाँण देउवालाई भेट्न कमै पुग्ने गरेको नेताहरू बताउँछन् । 

‘गत फागुन २ गते ११ नेताको टोलीमा खाँण सभापतिको निवासमा पुग्नुभएको थियो । त्यसपछि केही सार्वजनिक कार्यक्रममा सभापतिसँगै देखिनु पनि भयो । तर, सभापतिसँग निवासमै भेट्न जाने क्रम अहिले पातलिएको छ,’ एक नेताले भने, ‘अरूले तयारी गरे पनि महाधिवेशनका लागि समय धेरै बाँकी भएकाले महाधिवेशनकेन्द्रित छलफल र भेटघाटलाई सभापतिले रुचिमा राख्नुभएको छैन ।’

खाँण नेविसंघ र तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । अझै पनि पार्टीको तल्लो पंक्तिसम्म उनको प्रभाव छ । खाँणसँग केही पदाधिकारी, केन्द्रीय सदस्य र सांसद समेत निकट छन् । शेखरले खाँणको त्यही शक्ति देखेरै उनलाई आफ्नो खेमामा ल्याउन खोजेका छन् ।

यादवले दाबी गरे पनि पहिले जस्तो भेट्न, खुलेर छलफल गर्न देउवा र खाँण दुवैले अप्ठ्यारो मान्ने गरेको नेताहरू बताउँछन् । देउवानिकट स्रोतले महाधिवेशनकेन्द्रित छलफल र कुराकानीका लागि सभापतिले भेटघाटलाई नै ‘कन्ट्रोल’ गरेको जानकारी दियो । 

‘यसअघि ११ भाइसँग पनि सभापतिले पटक–पटक रिक्वेस्ट आएपछि मात्र भेट्नुभएको हो, किनकि महाधिवेशन आउन अझै २ वर्षभन्दा बढी बाँकी भएकाले यो विषयमा छलफल आवश्यक नभएको सभापतिको बुझाइ छ,’ देउवानिकट स्रोतले भन्यो, ‘बूढानीलकण्ठले महाधिवेशनकेन्द्रित भेटघाटमै कन्ट्रोल गरेकाले नेताहरू कम नै भेट्नुहुन्छ ।’

यद्यपि दाङ, धनगढी र भैरहवामा देउवासँग खाँण पनि पुगेकाले सम्बन्ध बिग्रेको नदेखिएको नेताहरू दाबी गर्छन् । सह–महामन्त्री यादव अहिले महाधिवेशनको इस्यु नै पार्टीमा उचित नभएको बताउँछन् । 

‘महाधिवेशनका लागि धेरै समय बाँकी छ, त्यसैले अहिले नै यो विषयलाई इस्यु बनाइरहन जरुरी छैन,’ यादवले भने, ‘राजावादी सल्बलाएका छन् । यो बेला गणतन्त्रवादी आपसमा मेलमिलाप गरेर अगाडि बढ्नुपर्छ । अनि साढे दुई वर्षपछि महाधिवेशन गर्ने कुरा त छँदैछ ।’ 

आफैं पनि कम भेटघाटमा खाँण

थुनामुक्त भएको डेढ वर्ष हुन लागे पनि खाँण खुलेर राजनीतिक गतिविधिमा लाग्न सकेका छैनन् । मुद्दा विचाराधीन रहेकाले उनलाई पहिलेकै जस्तो ‘फर्म’मा राजनीतिक गतिविधि अगाडि बढाउन अप्ठ्यारो छ । मुद्दा बाँकी नै भएकाले खाँणले पनि धेरै राजनीतिक कार्यक्रम र भेटघाटलाई प्राथमिकता नदिएको एक नेताले बताए । 

‘मुद्दा लागिसकेपछि अब यो छिटो किनारा लागोस् भन्नेमा उहाँ हुनुहुन्छ । त्यसपछि पहिले जसरी नै राजनीतिमा सक्रिय हुन पाइयोस् भन्ने उहाँको इच्छा छ,’ कांग्रेसका एक नेताले भने, ‘आफूमाथि गम्भीर मुद्दा विचाराधीन रहेकाले उहाँ आफैंले पनि भेटघाट र बाहिरका कार्यक्रम एकदमै थोरै राख्नुभएको छ ।’ 

null

शेखरको नजरमा खाँण

१४ औं महाधिवेशनमा संस्थापनलाई एकतृत गर्न र इतर पक्ष विभाजन गराउन सक्दा देउवा पुनः सभापतिमा निर्वाचित भएका थिए ।

त्यस्तै सूत्र प्रयोग गर्ने दाउमा यसपटक शेखर छन् । यसैले देउवा सभापतिमा अगाडि नबढ्ने भएपछि उनको खेमाका नेतालाई आफूतिर तान्ने रणनीति शेखरले बनाएका छन् ।

खाँण नेविसंघ र तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । अझै पनि पार्टीको तल्लो पंक्तिसम्म उनको प्रभाव छ । खाँणसँग केही पदाधिकारी, केन्द्रीय सदस्य र सांसद समेत निकट छन् । शेखरले खाँणको त्यही शक्ति देखेरै उनलाई आफ्नो खेमामा ल्याउन खोजेका छन् । शेखरनिकट स्रोतले पनि खाँण मात्रै होइन, अन्य नेता समेत आफूहरूसँग सम्पर्कमा रहेको जानकारी दियो । 

‘महाधिवेशन केही परै भएकाले को नेता संवादमा छन् र को छैनन् भन्ने कुरा अहिले नै खुलाउनु उचित हुँदैन,’ शेखर टीमका एक नेताले भने, ‘तर, खाँणसहितका अन्य प्रभावशाली नेतासँग शेखर दाइको नियमित संवाद, भेटघाट र छलफल भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्