
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले गणतन्त्रामथि राजावादीको प्रहार भइरहेका बेला राष्ट्रिय सहमतिको सरकारको कुरा गर्नु बेमौसमी बहस भएको टिप्पणी गरेको छ । यस विषयमा पार्टीमा कुनै छलफल नभएको एमालेले स्पष्ट गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकपछि पत्रकारले सोधेको एक प्रश्नको जवाफमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सहमतिको सरकारको कुरा बेमौसमी विषय भएको बताएका हुन् ।
‘राष्ट्रिय सरकार बनाउने कुरा बेमौसमी विषय हो, यस विषयमा प्रवेश गरेनौं’ माओवादीका कतिपय नेताले राष्ट्रिय सहमतिको सरकारको वकालत गरेको बारे पत्रकारको प्रश्नको जवाफमा ज्ञवालीले भने, ‘यस्तो बेलामा सरकारमा भागवण्डा खोज्ने भनेको गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि सत्तामा जाने भर्याङ बनाउन खोजिएको ? गम्भीर नैतिक प्रश्न उहाँहरूमाथि उठ्छ ।’
यसअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्रको रक्षाका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका थिए । उनको भनाइलाई आधार बनाएर माओवादीले सहमतीय सरकारको लबिङ गरेका अफवाह फैलिएका थिए ।
नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने निर्णयसहित विशेष प्रस्ताव पारित गरेको छ ।