२३ जेठ २०८३, शनिबार

ओली-प्रचण्डको एक स्वर– 'भाइमारा र मूर्तिचोर' !

चैत ४, २०८१
काठमाडौं
ओली-प्रचण्डको एक स्वर– 'भाइमारा र मूर्तिचोर' !

प्रधानमन्त्री केपी शर्मा ओलीले शहरमा हराएका मूर्ति र त्यसलाई हराउन बाध्य पार्नेको खोजी भइरहेको भन्दै कविता वाचन गरेका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत खण्ड कला–साहित्य–संस्कृति सम्मिलनलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल' शीर्षकको कविता वाचन गरेका हुन् ।

उनले पूर्वराजाप्रति कटाक्ष गर्दै शहरमा मूर्ति हराउन बाध्य पार्ने र 'भाइमारा'को खोजी भइरहेको उल्लेख गरेका छन् ।

ओलीले वाचन गरेको कविताको अंशमा भनिएको छ–

'शहरमा खोजी भैरहेछ हराएको मूर्तिको,
मूर्ति आफैं हराएन, मूर्तिलाई हराउन मद्दत गर्नेको,
खोजी भैरहेछ भाइमाराको,
राष्ट्रिय पकेटमाराको !'

'कसले मूर्तिलाई हराउन मद्दत गर्‍यो होला ? मैले सोझै चोर भन्ने शब्द प्रयोग नगर्न चाहेको, साहित्यिक भाषामा भनेको,' कविता वाचनका क्रममा त्यसको व्याख्या गर्दै ओलीले भनेका थिए ।

उनले अहिले समय फेरिएको भन्दै हल्लाको पछाडि कुद्नेको बाहुल्यता रहेको उल्लेख गरे ।

'तर, अहिले समय फेरिएको छ,
शहरले धेरै कुरा बिर्सिएको छ,
ती कथा बिर्सिएको छ,
ती गौरव गाथाहरू पनि बिर्सिएको हो कि जस्तो भएको छ,
कता–कता मेघबहादुरको बाटोमा जस्तै,
खुकुरीले नङ काट्न थालेजस्तै भएको छ,
नक्कल धेरै गर्छ,
हल्लाका पछि कुद्छ शहर।

केही दिनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि पूर्वराजालाई लक्षित गर्दै 'भाइमारा र मूर्तिचोर' भन्ने शब्दावली प्रयोग गरेका थिए ।

सोमबार ओलीले प्रचण्डभन्दा थोरै फरक शैलीमा उही भाव दोहोर्‍याएका हुन् ।

प्रधानमन्त्री ओलीले वाचन गरेको कविता :

अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल

यसको स्पन्दन केन्द्र मुटु काठमाडौँ

एउटा बृहत मिलन, सम्मिलन  

सङ्कल्प, स्वर्ण हिमवत्खण्डको। 

कथा हाँगाबाट भुइँमा, भुइँबाट गुफामा

गुफाबाट यहाँसम्म

एउटा लामो यात्रा, 

यात्राको कर्ण भूभाग

प्रेम, घृणा, लडाइँ, उन्माद, आर्तनाद

कठिन तर गौरवको यात्रा

प्रेमपछि प्रेमको कथा

हिमवत्खण्ड।

तर अहिले समय फेरिएको छ

सहरले धेरै कुरा बिर्सिएको छ

ती कथा बिर्सिएको छ

ती गौरव गाथाहरु पनि बिर्सिएको हो कि जस्तो भएको छ 

कता–कता मेघबहादुरको बाटोमा जस्तै

खुकुरीले नङ काट्न थाले जस्तै भएको छ 

नक्कल धेरै गर्छ,

हल्लाका पछि कुद्छ सहर।

आजकल सहरमा काग–काग कराउँदै उडिरहेछन्

आफ्नै सभ्यता माथिबाटै बाट बिस्ट्याइरहेछन्

ओहो !  भनाभन, साँचो–झुठो, केही प्रवाह छैन 

सहरमा खोजी भइरहेको छ हराएको मूर्तिको

आजकल जोडदार सहरमा हराएको मूर्तिको खोजी भइरहेछ

मूर्ति आफैं हराएन,

हराउन मद्दत गर्नेको खोजी भइरहेछ

कसले मूर्ति हराउन मद्दत गर्‍यो होला ?

खोजी भइरहेछ भाइमाराको

खोजी भइरहेछ राष्ट्रिय पकेटमाराको

तानातान छ गतिको रथ र पाङग्राको

अघितिर तान्ने वा पछितिर

तर हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ

अलि पर एउटा स्पष्ट गन्तव्य

सबै कुरा छोडेर

त्यही छुन एउटै यात्रा

एउटै गन्तव्य

एउटा यो सानो सम्मिलन

सङ्कल्प, सुवर्ण हिमवत्खण्डको।

सङ्कल्प, सुवर्ण हिमवत्खण्डको।।

salt training

कमेन्ट गर्नुहोस्