१२ असार २०८३, शुक्रबार

लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिने बढे

चैत ५, २०८१
काठमाडौं
लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिने बढे

पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी शुरू भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ ।  
 
प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि छ महिने कार्यक्रम शुरू गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनादेखि प्रशिक्षण दिन थालिएको हो । समितिमा आफैँ खोजी गर्दै करिब तीन दर्जन प्रशिक्षार्थी आएका समितिले जनाएको छ ।
  
प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गरिएको उनले जानकारी दिए। ज्योतिष प्रशिक्षण लिन जनजाति र दलित पनि आउने गरेका समितिले जनाएको छ । 

'कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ । कर्मकाण्ड प्रशिक्षण लिने धेरै भने ब्राह्मण समुदायका हुने गरेका छन्,' ढुङ्गेलले भने । उनका अनुसार छ महिने प्रशिक्षणको १५ हजार शुल्क तोकिएको छ । यसमा थप परीक्षा शुल्क पनि लाग्ने छ ।

कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि लाइसेन्स उपयुक्त हुने भएकाले सोहीअनुसार तयारी भइरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। उनका अनुसार पुराण वाचन गर्न चाहने पण्डितका लागि वाल्मीकि विद्यापीठले यही चैतदेखि एक वर्षे प्रशिक्षण शुरू गरेको छ । 

यो प्रशिक्षणमा भाग लिन आउनेको पनि सङ्ख्या बढेको छ । पुराण वाचन शास्त्रीय विधिअनुसार नभइरहेको गुनासो बढ्न थालेपछि विद्यापीठका प्राध्यापकहरुको सक्रियतामा यो प्रशिक्षण शुरू गरिएको वाल्मीकिका प्राचार्य अच्युतप्रसाद लामिछानेले बताए । 

उनका अनुसार दैनिक एक घण्टा एक वर्षसम्म प्रशिक्षण दिएपछि प्रशिक्षार्थीले शास्त्रीय विधिअनुसार पुराण वाचन गर्नसक्ने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्