
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा लामो समयदेखि अड्किएका नासाका अन्तरिक्ष यात्रीहरू सुनी विलियम्स र बुच विलमोर अन्ततः स्पेसएक्स क्रु ड्रागन यानमार्फत् पृथ्वीतर्फ फर्कने यात्रामा छन् ।
जम्मा ८ दिने मिसनका लागि गत सालको जुनमा आईएसएस गएका यी अन्तरिक्षयात्रीहरू बोइङ स्टारलाइनर क्याप्सुलमा समस्या आएपछि लगभग नौ महिना अन्तरिक्षमै अड्किए ।
८ दिनका लागि निकै कम सामग्री लिएर गएका उनीहरू थप समय बस्नुपरेपछि पृथ्वीबाट थप सामग्री पठाइएको थियो ।
अन्तरिक्षमा अप्रत्याशित रूपमा लामो समय बिताउनुपर्दा उनीहरूले त्यहाँ मनोरञ्जनका लागि ताससमेत खेलेका थिए । सुनी विलियम्सले एक अन्तरवार्तामा बताए अनुसार उनले साथमा लगेको तास खेल्ने सामग्रीले अन्तरिक्षमा काम गर्ला भन्ने उनलाई आशा थिएन । तर, आश्चर्यजनक रूपमा स्टेसनका सबै सदस्यहरू मिलेर तास खेल्न सफल भए ।
बुच विलमोरले भने विशेष नौसैनिक पाइलट पखेटाको चिन्ह अंकित सुनको औंठी लिएर गएका थिए, जुन उनका लागि भावनात्मक महत्त्व राख्दछ । स्टारलाइनर चालक दलका साथ फर्कन लागेका निक हेग नामक अर्का नासा अन्तरिक्षयात्रीले केही संगीतका स्वरलिपिहरू साथमा लगेको जानकारी दिए ।
उनीहरूको पृथ्वीसम्मको यात्रा लगभग १७ घण्टा लामो हुने अनुमान गरिएको छ । स्पेसएक्स क्याप्सुल राति १० बजेको समयमा समुद्रमा अवतरण गर्ने अपेक्षा गरिएको छ । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा क्याप्सुलले तीव्र ताप र गतिको सामना गर्नुपर्नेछ ।
जुन २०२४ मा बोइङ स्टारलाइनरको परीक्षणका लागि अन्तरिक्षमा गएका विलियम्स र विलमोरलाई क्याप्सुलमा प्राविधिक समस्या देखिएपछि नासाले स्टारलाइनरलाई खाली फिर्ता पठाउने र उनीहरूलाई आईएसएसमै राख्ने निर्णय गरेको थियो।
आईएसएसमा रहँदा उनीहरूलाई आवश्यक कपडा, खाद्यान्न, पानी र अक्सिजन निरन्तर आपूर्ति गरिएको थियो।