२४ जेठ २०८३, आइतबार

भारत र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै, दशकअघिको 'असफल' वार्ता पुनः शुरू

चैत ५, २०८१
काठमाडौं
भारत र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै, दशकअघिको 'असफल' वार्ता पुनः शुरू
तस्वीर: एनएनआई

भारत र न्युजिल्यान्डले दश वर्षअघि असफल भएको स्वतन्त्र व्यापार वार्ता पुनः शुरू गरेका छन् । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनको पाँच दिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि यो निर्णय भएको हो ।

दुवै पक्षले आगामी महिना वार्ताको पहिलो चरण शुरू गर्ने सहमति गरेका छन् । लक्सनका अनुसार यो घोषणा दुई देशबीचको आर्थिक सम्बन्धमा 'ठूलो सफलता' हो ।

'न्युजिल्यान्डका लागि भारत निकै महत्त्वपूर्ण सम्भावना भएको देश हो । आगामी १० वर्षमा न्युजिल्यान्डको निर्यातको मूल्य दोब्बर बनाउने लक्ष्यमा भारतको महत्त्वपूर्ण भूमिका हुनेछ,' लक्सनले भने ।

हालै दुई देशबीचको द्विपक्षीय व्यापार २ अर्ब अमेरिकी डलर (१.५५ अर्ब पाउण्ड) भन्दा कम मूल्यको छ ।

लक्सन दिल्लीमा जारी रहेको अर्को एक सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुँदैछन्, जसमा अमेरिकी राष्ट्रिय 'इन्टेलिजेन्स' निर्देशक तुलसी गब्बार्ड पनि उपस्थित हुनेछिन् ।

व्यापारका अतिरिक्त न्युजिल्यान्डले रक्षा, सुरक्षा, खेलकुद र वातावरण जस्ता क्षेत्रमा भारतसँगको सहकार्य बढाउँदै भारतसँगको आर्थिक सम्बन्धलाई प्राथमिकता दिएको जनाएको छ ।

दुवै नेताहरूले समुद्री सुरक्षाका लागि रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् भने र डिजिटल भुक्तानी क्षेत्रमा थप सहकार्य विस्तार गर्ने बताएका छन् ।

गत १६ मार्चमा, फाइभ आइज (न्युजिल्यान्ड, अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिका)को गुप्तचर साझेदारी गठबन्धनका प्रतिनिधिहरूले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालद्वारा आयोजित सुरक्षा प्रमुखको सम्मेलनमा भाग लिएका थिए ।

भारतको लागि न्युजिल्यान्डसँगको निकटता निकै महत्त्वपूर्ण रहेको मानिएको छ । भारतले हिन्द महासागर क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्ने लक्ष्य राखेको छ ।

प्रधानमन्त्री लक्सनले भारत भ्रमणका क्रममा अहिलेसम्मकै ठूलो प्रतिनिधिमण्डललाई सहभागी गराएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले भ्रमणलाई निकै महत्त्व दिएको दाबी गरेका छन् ।

दुवै देशबीच यसअघि २०१० मा व्यापार वार्ता शुरू भएको थियो तर बजार पहुँचजस्ता मुद्दाहरूमा असहमति भएपछि उक्त वार्ता असफल भएको बताइएको थियो ।

न्युजिल्यान्डले भारतको डेरी बजारमा बढी पहुँचको माग गरेको थियो । भारतले आफ्ना किसानको हकहितलाई ध्यानमा राख्दै उक्त पहुँच दिन सहमति जनाएको थिएन ।

स्वतन्त्र व्यापारबारे वर्षौंसम्म प्रगति नभएको अवस्थामा भारतले न्युजिल्यान्डसँग गर्न लागेको स्वतन्त्र व्यापार सम्झौतालाई महत्त्वका साथ हेरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि भारतले युरोपेली संघ र बेलायतसँग पनि स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता शुरू गरिसकेको छ । न्युजिल्यान्डसँगको वार्ता त्यसैको पृष्ठभूमिमा हुन लागेको हो ।

गत वर्ष भारतले यूरोपेली स्वतन्त्र व्यापार संघसँग वार्ता गर्दै १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको थियो ।

भारत र अस्ट्रेलियाले पनि दुई वर्षअघि एक महत्त्वपूर्ण व्यापार सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

गत हप्ता भारतका व्यापार मन्त्री पीयूष गोयलले भारतीय निर्यात संगठनलाई संरक्षणवादी मानसिकताबाट बाहिर निस्कन सचेतसमेत गराएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्