
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मोरङका सात क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ । सातमध्ये चार वटामा अखिल (क्रान्तिकारी) विजयी भएको छ । एउटामा नेविसंघ र २ वटामा अनेरास्ववियुले जीत हासिल गरेका छन् ।
मोरङका ३ आंगिक र ८ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो । मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भएका छन् ।
यस्तै, केरावारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन् । यसैगरी, मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरेको प्यानल नै निर्वाचित भएको छ ।
पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई निर्वाचित भएका छन् भने विराटनगरको डिग्री क्याम्पसमा अखिल क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ ।
यस्तै, विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन् ।
सुन्दरहरैचाको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । मोरङका तीन वटा क्याम्पसमा भएको स्ववियुको चुनावलाई प्राथमिकताका साथ हेरिएको छ ।
विराटनगरमा रहेको महेन्द्र मोरङ कलेज, डिग्री कलेज र सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्याम्पसलाई विशेष महत्वका साथ हेरिएको छ । डिग्री कलेजमा अखिल क्रान्तिकारीले जीत निकालेको छ भने महेन्द्रमा पनि उही अगाडि छ ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पछिल्लो मतपरिणामअनुसार अखिल क्रान्तिकारी नै अगाडि देखिएको छ ।