
हवाई हमलापछि इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम कोरिडोरमा आफ्नो सेना पुगेको बताएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली आक्रमणमा ४३० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ। गाजामा भएका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताको अन्त्य भएको संकेत गर्छ।
यसअघि संयुक्त राष्ट्रसंघले देइर अल–बालाहस्थित आफ्नो परिसरमा भएको विस्फोटमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीसहित दुई जनाको मृत्यु भएको बताएको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा अनुसन्धान शुरू गरिने बताएका छन् तर, इजरायलले जिम्मेवारी नरहेको बताएको छ ।
बुधबार एक भिडियो सन्देशमा इजरायली रक्षामन्त्री इजरायल काट्जले प्यालेस्टाइन क्षेत्रहरूलाई 'अन्तिम चेतावनी' दिएका थिए । त्यहाँ राखिएका बाँकी बन्धकहरूलाई फिर्ता गर्न उनले माग गरेका थिए ।
काट्जले बन्धकहरूलाई रिहा नगरिए गाजामा नरकको ढोका खोल्ने चेतावनी दिएका छन् ।
हमासले भने इजरायली हवाई आक्रमणलाई युद्धविरामको उल्लङ्घन भएको बताएको छ ।
हमासले यो कदमले इजरायली बन्धकहरूको जीवनलाई खतरामा पारेको धम्की दिएको छ ।
मंगलबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको बताएका थिए ।
उनले भिडियो सार्वजनिक गर्दै यो त शुरूआत मात्र भएको चेतावनी दिएका थिए ।