२५ जेठ २०८३, सोमबार

भारतको छत्तीसगढ बीजापुरमा १८ र कांकेरमा ४ नक्सलवादी मारिए

चैत ७, २०८१
काठमाडौं
भारतको छत्तीसगढ बीजापुरमा १८ र कांकेरमा ४ नक्सलवादी मारिए

भारतको छत्तीसगढको बीजापुर-दन्तेवाडा सीमामा रहेको वन क्षेत्रमा सुरक्षाकर्मी र नक्सलवादीबीच भएको दोहोरो भिडन्तमा १८ जना नक्सलवादी मारिएका छन्। सोही भिडन्तमा बीजापुर जिल्ला रिजर्भ गार्डका एक जना जवानको पनि मृत्यु भएको छ । 

सुरक्षाकर्मीहरूले भिडन्त स्थलबाट हतियार तथा गोलीगठ्ठा बरामद गरेका छन्। बीजापुर-दन्तेवाडा सीमामा पर्ने गंगालुर प्रहरी चौकी क्षेत्र अन्तर्गत मुठभेड र खोजी अभियान जारी रहेको छ। जानकारी अनुसार भिडन्त बिहीबार बिहान करिब ७ बजे शुरू भएको थियो । 

यसैबीच, बीजापुर-दन्तेवाडा सीमाका अलावा सुरक्षाकर्मीहरूले कांकेरमा भएको अर्को मुठभेडमा ४ जना नक्सलवादीलाई मारेका छन् । यसरी विभिन्न स्थानमा भएका दोहोरो भिडन्तमा हालसम्म २२ जना नक्सलवादी मारिएका छन्।

कांकेर-नारायणपुर सीमाक्षेत्रमा नक्सलवादीहरूको उपस्थितिबारे जानकारी पाएपछि सुरक्षाकर्मीले खोजी अभियान चलाएका थिए । सोही क्रममा दुवै पक्षबीच भिडन्त भएको थियो । सो मुठभेडमा ४ जना नक्सलवादी मारिएका छन् । उनीहरूको शव बरामद गरिएको छ भने भिडन्त स्थलबाट स्वचालित हतियारसहित अन्य सामग्री फेला पारिएको छ।

छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले आईएएनएससँग कुरा गर्दै भने, ‘हाम्रो सुरक्षाकर्मीहरूले १८ जना नक्सलीलाई मार्न सफल भएका छन् । बिहीबार बिहान ७ बजेदेखि डीआरजी र अन्य सुरक्षाबलको नक्सलीहरूसँग भिडन्त जारी थियो । खोजी अभियानका क्रममा १८ जना नक्सलीको शव बरामद भएको छ ।’

बीजापुरमा भएको मुठभेडबारे बोल्दै छत्तीसगढका मन्त्री केदार कश्यपले भने, ‘हाम्रो सुरक्षाकर्मीलाई धेरै-धेरै बधाई दिन्छु, जसले १८ जना नक्सलीलाई मार्न सफल भएका छन् ।’

उनले थपे, ‘सन् २०२६ भित्रमा सम्पूर्ण छत्तीसगढ नक्सलमुक्त प्रदेशका रूपमा परिचित हुनेछ । देशका गृहमन्त्री अमित शाह, छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साय र राज्यका गृहमन्त्री विजय शर्मा निरन्तर यो दिशामा काम गरिरहेका छन् । हाम्रा सुरक्षाकर्मीको मनोबल उच्च छ, नक्सलवादी पछाडि धकेलिएका छन् र आगामी दिनमा यो क्षेत्र नक्सलमुक्त प्रदेशको रूपमा स्थापित हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्