
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको दाबी गरेका छन् ।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरूले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था देखिएकाले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने उनको दाबी छ ।
गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने बिरोधीहरूको भाष्य खारेज भएको उनले बताए ।
‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरूले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं,’ उनले भने, ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमाले समर्थित विद्यार्थी संगठनहरू मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौं ठूला क्याम्पसमा तीसौं वर्षदेखिका रेकर्ड तोडिएका छन् । युवा विद्यार्थीहरू अब प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा छन् भन्ने स्ववियु निर्वाचनले स्पष्ट सन्देश दिएको छ ।’
सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरूले टाउको उठाउने दुस्साहस गरेको उनको टिप्पणी छ ।