
निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाउनको लागि नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई राय सुझावको लागि सार्वजनिक गर्दै आयोगले निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउनको लागि नयाँ प्रावधान थपेको हो ।
आफ्नो वेबसाइटमा मस्यौदा प्रकाशन गर्दै आयोगले दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ।
राष्ट्रिय दलको मान्यता पाउन समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने पुरानै प्रस्ताव भए पनि अरु विषय नयाँ प्रस्ताव गरिएको छ । संघ, प्रदेश, स्थानीय तहमा उम्मेदवारी दिनुपर्नेसहितका प्रावधान राखिएको छ ।
केन्द्रदेखिको पार्टीको संरचना हुनुपर्ने र कम्तीमा ८० प्रतिशत स्थानीय तहसम्मका समिति भएका दललाई मात्रै राष्ट्रिय दलको मान्यता दिनुपर्ने प्रस्ताव आयोगको छ ।
‘प्रतिनिधिसभाको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ कम्तीमा ७० प्रतिशत सिटमा उम्मेदवारी दिएको र तीन प्रदेशमा कम्तीमा एकएक सिट प्राप्त गरेको हुनुपर्ने,' आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रको विविधता देखिने गरी समानुपातिक समावेशी भएको केन्द्रमा केन्द्रीय समिति, प्रत्येक प्रदेशमा प्रदेश समिति, प्रत्येक जिल्लामा जिल्ला समिति र कम्तीमा ८० प्रतिशत स्थानीय तहमा स्थानीय समिति रहेको दल हुनु पर्ने जस्ता शर्तहरू पूरा गर्नु पर्नेछ ।'