
नेपालबाट विद्युत आपूर्ति कटौती (लोडसेडिङ) अन्त्य विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नभइ भारतले विद्युत दिएपछि सम्भव भएको भन्ने ऊर्जामन्त्रीको अभिव्यक्तिले संसद्मा बहस तातेको छ । संघीय संसदका दुवै सदनमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जामन्त्रीको अभिव्यक्तिलाई लिएर प्रश्न गरे । ‘केही दिनदेखि म हाम्रो ऊर्जामन्त्रीले नेपालमा लोडसेडिङ अन्त्यको जश भारतलाई दिनुपर्छ भनेर बोलेको सुनेको छु । हिजोपनि मैले त्यही सुने’, सांसद गैरेले भने, ‘नेपालको बिजुली भारतले किन्छ, भारतको नेपालले किन्छ । यो व्यापारको विषय हो ।’
मन्त्रीले ‘लोडसेडिङ हुन्छ’ र कार्यकारी निर्देशकले ‘हुँदेन’ भनेपछि देशलाई अन्योलतामा लैजाने काम शुरू भएको सांसद गैरेले बताए । ‘गर्मी समय आएको छ, यस्तो बेलामा विद्युत आपूर्ति कसरी व्यवस्थित गर्ने र जनतालाई आश्वस्त गराउने भन्दा पनि मन्त्री र कार्यकारी निर्देशकको फरक अभिव्यक्तिले जनतामा भ्रम उत्पन्न भएको छ’, गैरेले भने ।
बुधबार राष्ट्रियसभा बैठकमा ऊर्जामन्त्री खड्काले भारतले बिजुली दिएकै कारण नेपालबाट लोडसेडिङ अन्त्य भएको दोहोर्याएका थिए । यो विषयलाई लिएर सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ ।
यसअघि प्रतिनिधिसभा बैठकमा पनि मन्त्री खड्काले कठिन समयमा विद्युत दिएर नेपालको लोडसेडिङ अन्त्य गरिदिएकोमा भारतलाई धन्यवाद दिनुपर्ने बताएका थिए ।
‘उहाँहरू (भारत)लाई चाहिँदाचाहिँदै पनि ४५० मेगावाट विद्युत किन्न दिनुभयो । त्यसका लागि तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई दिनुपर्छ’, मन्त्री खड्काले भनेका थिए ।
भारतले रातिको समयमा दिँदै आएको विद्युतको सम्झौता सकिएपछि चैत्र ३ बाट नेपाल आउन छाडेको छ । भारतबाट विद्युत नआएपछि नेपालमा फेरि लोडसेडिङ हुने हो कि भन्ने सन्त्रास उत्पन्न भएको छ ।
‘मन्त्रीजीले भनेजस्तै लोडसेडिङ अन्त्यका लागि फेरि पनि भारतकै भर पर्नु पर्ने अवस्था आएको छ । रातिको समयमा पनि विद्युत आयात गर्नेगरी हामी पहल गरिरहेका छौं’, ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।
भारतबाट विद्युत आयातका लागि गरिएको सम्झौता नवीकरण नभएपछि रातिको समयमा विद्युत आउन छाडेको हो । त्यसको असर स्वरूप उद्योगहरूमा लोडसेडिङ शुरू भइसकेको छ । २०५८ सालदेखि २०७३ सालसम्म नेपालमा चर्को लोडसेडिङ भएको थियो ।