
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेस र एमालेसँगको संसर्गका कारण आफूहरूमा रोग सरेको बताएका छन् । अस्पतालबाट निको नहुने रोगको उपचारका लागि जनतासँग आएको उनले बताए ।
शुक्रबार पर्साको ठोरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राम्रा नराम्रा कामको आत्मालोचनाका लागि आफूहरू जनताकोमा फर्केको बताएका हुन् । ‘संसद्वादीसँग संसर्ग गर्दा हामीमा उनीहरूको रोग सर्यो । यो रोगको उपचार कसरी गर्ने ? जनतासँग गएर आत्मालोचनासहित तपाईंहरूको वर्गमा आएका छौं,’ प्रचण्डले भने, ‘दस्तावेजमा लेखेर मात्र पूरा हुँदैन कार्यरुप दिन जनताको बीचमा जान तयार हुनुपर्छ भनेर शीर्ष नेताहरू नै हुलाकी राजमार्गमा आयौं ।’
प्रचण्डले उपनिर्वाचनसम्म आइपुग्दा ओरालो लागेको पार्टी कोशी प्रदेशमा एक नम्बर बनेको दाबी गरे । ‘स्ववियु चुनावमा प्रदेश एकमा अखिल क्रान्तिकारीले क्लिनस्वीप भएको छ । हाम्रो अभियानको पनि प्रभाव हो,’ प्रचण्डले भने ।