०५ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

राजावादीले फोटो प्रयोग गर्दा योगी आदित्यनाथ मौन, दलितको घर भत्काउनेहरु पक्राउ

चैत ९, २०८१
काठमाडौं
राजावादीले फोटो प्रयोग गर्दा योगी आदित्यनाथ मौन, दलितको घर भत्काउनेहरु पक्राउ

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सिरहामा दलितमाथि ज्यादती गरेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले उनीहरुमाथि अनुसन्धान भइरहेको बताए ।

महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काउने घटनामा उनीहरुको संलग्नता रहेको बताइएको छ ।
००००
परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो हालको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी भएको बताएकी छन् ।
भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग यो कुरा खुलाएकी हुन् ।
००००
जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ ।

सिङ्गापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले  सिङ्गापुरमाथी १–० को जित निकालेको हो ।

नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गरेका हुन् । सिङ्गापुर विरूद्ध नेपालले गरेको यो नै पहिलो गोल हो ।
००००
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति मातहतको आन्दोलन परिचालन समितिको बैठक राप्रपाका महामन्त्री धवल शमशेर राणाको अध्यक्षतामा शुक्रबार बसेको छ । 

बैठकले राणाको संयोजकत्वमा सबैलाई एक ठाउँमा ल्याउन आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

संयुक्त जनआन्दोलनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने बैठकले निर्णय गरेको राणाले बताए । आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा रही एकताबद्ध भई सहकार्य गर्नका लागि सम्पूर्ण राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई बैठकले अपिल समेत गरेको उनले बताए ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सृजना गर्ने निर्णय गरेको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । 
००००
राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीको उपचारको क्रममा संयुक्त अधिराज्य अमेरिकामा निधन भएको छ ।
उनको लिभरमा समस्या देखिएको थियो भने पछिल्लो समय जन्डिस पनि भएको थियो ।
००००
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।

२३  करोड ७९ लाख  रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टिलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।  
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेसँगको संसर्गका कारण आफूहरूमा रोग सरेको बताएका छन् । अस्पतालबाट निको नहुने रोगको उपचारका लागि जनतासँग आएको उनले बताए । 

शुक्रबार पर्साको ठोरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राम्रा नराम्रा कामको आत्मालोचनाका लागि आफूहरू जनताकोमा फर्केको बताएका हुन् ।
००००
पाथीभरा मन्दिर केबलकार परियोजनासम्बन्धी विवादलाई संवादको माध्यमबाट समाधान गर्न ५ मानवअधिकारवादी संस्थाहरूले अपिल जारी गरेका छन्।
जवाफदेहिता निगरानी समिति, एम्नेस्टी इन्टरनेसनल नेपाल, न्याय तथा अधिकार संस्था (जुरी–नेपाल), एड्भोकेसी फोरम नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले परियोजनालाई मानवअधिकारमैत्री बनाउनका लागि सरोकारवालाबीच सार्थक वार्ता आवश्यक रहेको बताएका हुन् ।
००००
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री भएको छ । 
००००
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री एवं भाजपा नेता योगी आदित्यनाथले नेपालमा भइरहेको धर्मान्तरणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल–भारत सम्बन्ध बिथोल्ने प्रयास भइरहेकोप्रति पनि चिन्ता व्यक्त गरे । 

मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहलगायत नेपालका नेताहरूसँग बिहीबार यूपीको बलरामपुर जिल्लाको माँ पाटेश्वरी मन्दिर तुलसीपुरमा भएको भेटमा योगीले नेपालमा भइरहेको तीब्र धर्मान्तरणको बारेमा चासो व्यक्त गरेका हुन् । 

फागुन २५ गते काठमाडौंमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शनमा आफ्नो तस्वीर राखिएकोबारे आदित्यनाथ मौन बसेका थिए । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किने क्रममा गरिएको स्वागतमा योगीको तस्वीर राखिएपछि नेकपा एमालेका नेताहरूले आलोचना गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्