
६०औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च)को अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले ‘मार्च टू जस्टिस’ अभियान शुरू गरेको छ।
जातीय हिंसा, भेद्भाव र अन्यायविरुद्ध सचेतना जगाउँदै न्याय तथा समानताको पक्षमा आवाज उठाउने उद्देश्यले १०० दिने अभियान शुरू गरिएको हो ।
हालै सिरहामा सामूहिक बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया रिंकु सदा अझै न्याय नपाएको, अन्तर्जातीय विवाहका कारण सर्लाहीका सत्येन्द्रराम (चमार) र नेहा रौनियार देश छोड्न बाध्य भएको, तथा महायज्ञका नाममा डोम समुदायका घरमा बुलडोजर चलाइएको घटनाले जातीय विभेद अझै गहिरिएको दलित लाइभ्स म्याटरले जनाएको छ।
यस्ता घटनाविरुद्ध संघर्ष गर्दै समतामूलक समाज निर्माणका लागि अभियान थालिएको हो।
अभियानको शुरूवात भारतका सफाइ कर्मचारी आन्दोलनका संयोजक बेजवाडा विल्सनसँगको बहसबाट गरिएको थियो। उनले भारतमा हातले फोहोर उठाउने प्रथा उन्मूलनका लागि नेतृत्वदायी भूमिका खेलेका थिए। सामाजिक न्यायका लागि योगदान दिएकै कारण उनलाई सन् २०१६ मा रामोन म्यागसेसे पुरस्कार प्रदान गरिएको थियो।
‘मार्च टू जस्टिस’ अभियान अन्तर्गत जातीय हिंसा र भेदभावको विरोध, दलित तथा सिमान्तकृत समुदायका प्रतिरोधी कथाहरूको प्रवर्द्धन, पीडितलाई न्याय दिलाउन कानूनी सहायता, तथा संविधान कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
साथै, डिजिटल माध्यमबाट न्यायका लागि आवाज उठाउने उद्देश्यसहित ‘कास्ट कनभर्सेसन’ नामक टेलिभिजन कार्यक्रम हिमालय टिभीमार्फत प्रशारण भइरहेको छ।

२१ मार्चको ऐतिहासिक पृष्ठभूमि दक्षिण अफ्रिकाको सार्पभिल आन्दोलनसँग जोडिएको छ। सन् १९६० मा काला जातिहरूले गोरा जातिको विभेदकारी ‘पास ल’ विरुद्ध प्रदर्शन गर्दा ६९ जना मारिएका थिए। राष्ट्रसंघले सन् १९६५ मा उक्त दिनलाई ‘अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो।
नेपालमा जातीय विभेद अन्त्यका लागि लामो समयदेखि संघर्ष जारी छ। नवराज विकसहित उनका पाँच साथीहरूको हत्यापछि ‘दलित लाइभ्स म्याटर’ अभियान शुरू भएको थियो। जातीय विभेदविरुद्ध संघर्ष गर्नु निश्चित समुदायको मात्रै जिम्मेवारी नभएको भन्दै अभियानले सबै जात, समुदायको सहयोग आवश्यक रहेको संस्थापक अध्यक्ष प्रदीप परियारले जानकारी दिए ।
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका सहसंस्थापक ब्रिदिका सेन्चुरीका अनुसार नेपाल सरकारले जातीय विभेद तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनलाई लक्षित गर्दै यो अभियान शुरू गरिएको हो।
उनले भनिन्, 'जातीय विभेदका घटनाहरू निरन्तर भइरहेका छन्। कोही ज्यान गुमाइरहेका छन्, कोही विस्थापित भएका छन्। अहिले पनि जातीय विभेद समाजमा गहिरो रूपमा विद्यमान छ। त्यसैले हामीले ‘मार्च टू जस्टिस’ सबैको न्यायका लागि शुरू गरेका छौं।’