
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एन्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, 'समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।'
उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।
'हामीले थुप्रै मेडिकल कलेज बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सकको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतीक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो ।'
प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना तथा कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे । 'हामी भावनात्मक ढङ्गले चल्नुहुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् । त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ,' उनले भने ।