३० जेठ २०८३, शनिबार
पोखरामा जमिन भासिने समस्या

अर्मलाको त्रासदी : एक दशकअघिको समस्या समाधान भयो कि फेरि संकट आउँदैछ ?

चैत ११, २०८१
कास्की
अर्मलाको त्रासदी : एक दशकअघिको समस्या समाधान भयो कि फेरि संकट आउँदैछ ?

धनराज पराजुलीका खेत वरपर स–साना भ्वाङ देखिए । पोखरा र आसपास क्षेत्रमा बेलाबेला यस्ता भ्वाङ परिरहने हुनाले धनराज र स्थानीयले त्यसलाई सामान्यरूपमै लिए । अर्मलामा परेका भ्वाङ एकाएक ठूलो हुन थाले । घर खेत वरपर सयभन्दा बढी भ्वाङ परे । 

२०७० साल कार्तिक महिनातिर मूल फुटेर सेतो पानी कालिखोलामा मिसियो । एकाएक सेती बगे जसरी कालिखोलामा खोला मिसिन थाल्यो । 

जैमुरे फाँटवासी बगिरहेको सेतो लेदो पानीबाट केही समय अविज्ञ थिए । तलपट्टिका स्थानीयले सेतो लेदो सहितको पानी बगेको देखेपछि खबर गर्न आए । यता, खेतावरपर एकाएक भ्वाङ परेको छ । उता, कालिखोलामा पानी मिसिएको छ । 

मंसिर महिनासम्म आइपुग्दा अर्मला र जैमुरे फाँटको अवस्था त्रासपूर्ण बनिसकेको थियो । सयौँको संख्यामा जमिन भ्वाङ परेको थियो । कसैको भान्छा कोठा नै भासियो, कसैको घर आँगन । स्थानीय हिमलाल आचार्यको घरको कोठा भासियो । केही सामान निकाल्न भ्याए कुनै जमिनमै पुरियो ।

स्थानीय धनराज पराजुली पनि यो समस्याबाट प्रभावित भए । भाडामा बसेकाले उनी आफ्नो सामान बाँधेर स्थान सरे । घरजग्गा त्यही भएकाको विकल्प थिएन । धनराजलाई पनि आफ्नो ठाउँ छोडेर जाने अन्य विकल्प थिएन । 

त्यो सम्झना उनको मनमा अझै पनि त्रासपूर्ण रूपमा बसेको छ । भूगर्भीय र मानवीय कारणले उत्पन्न भएको समस्यासँग जुध्न दैवीप्रकोप समिति बन्यो । स्थानीय बासिन्दाको जुन धर्ममा आस्था थियो, सोहीअनुसार सबैले पूजाआजा गर्न भ्याए । ‘अर्मला दैवीप्रकोप पीडित व्यवस्थापन समिति’ नै बन्यो । 

null

स्थानीय सीता कार्कीले केही समय आफ्नो बासस्थान नै छोडेकी थिइन् । ‘यहाँ ७० सालमा भ्वाङ परेको थियो, घर नजिकै पनि भ्याङ परेको भएर हामीलाई डर लाग्यो, सुतेको बेलामा पर्ने हो कि दुई/चार रात गाउँको घरमा गएर बस्यौँ, फेरि सधैं अर्काका घरमा बसेर पनि भएन । पछि आफ्नै ठाउँमा फर्कियौं,’ सीताले भनिन् । 

सरकारले यससम्बन्धी बुझ्न अध्ययन समिति बनायो । २०७०/८/२४ गते गृह मन्त्रालयमा बसेको बैठकले प्रभावित क्षेत्रको अध्ययनगरी रोकथाम अल्पिकरण एवं न्यूनीकरणको विषयमा सिफारिस गर्‍यो । सो अध्ययन समितिले भौगर्भिकसँगै मानवीय कारणले अर्मलामा भ्याङ परेको निष्कर्ष निकाल्यो । यसअघि नै सन् १९९८ मा भएको पोखराको अध्ययनले पोखराका जमिन संवेदनशीलतालाई औंलाएको छ । अर्मलालगायत पोखराका कतिपय क्षेत्रमा संरचनाका निर्माणका लागि क्षेत्र संवेदनशील मानिन्छ । 

यस्तै, गृहमन्त्रालयको सिफारिसमा भएको अध्ययनअनुसार जैमुरेको गहिरो भागमा पानी जम्मा भई दुहुनी खोलाबाट कालिखोलामा निकास हुने गथ्र्यो । सो प्राकृतिक बहाव बस्ती विकास र मानवीय कारणले रोकियो । ह्युमपाइप कल्भर्ट बनाउने क्रममा दुहुनी खोलाको बहाव सतह माथि उठ्यो । 

खेती तथा बसोवासका लागि स्थानीय जनताले अतिक्रमण गर्दा दुहुनी खोला पुरिँदै जानु र विभिन्न क्षेत्रबाट सतही रूपमा बग्नुपर्ने पानीको प्रवाह अवरुद्ध भएपछि सो पानी भूमिगत प्रवाहमा मिसिन गएको हो । 

पानीको निकास हुन थालेपछि भू–क्षयीकरण सँगसँगै भूमिगत सुरुङ बन्दै चुनयुक्त कमेरे माटोको लेदोसहित भूमिगत पानीको चाप क्रमशः कम हुँँदै जाँदा जमिनको भारवहन क्षमता कम हुन गई सतहमा भ्याङ पर्न थालेको अध्ययनको निष्कर्ष छ । 

अध्ययन समितिले कालिखोलामा चारबढी ठाउँमा चेक ड्याम निर्माण गर्‍यो । कालिखोलाको सतह पहिलाको रूपमा फर्किन थाल्यो । यता, भ्याङ पर्ने समस्या पनि समाधान हुन थाल्यो । 

‘खोला दुई मिटरभन्दा माथि उठ्यो, खोलामाथि लेबलमा आइसकेपछि यो भ्याङ पर्न बन्द भयो,’ धनराजले भने । 

अहिले चेक ड्याम पुनः मर्मत गर्नुपर्ने अवस्थामा छन् । तर, यसतर्फ सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो धनराजको छ । अध्ययन समितिले गाउँको बीचबाट बगेको खहरे खोला मिच्नु र खोला पुरेर पानीको निकास सहज हुन नदिनु नै भाँसिनुको मुख्य कारण भएको बताएको थियो । सो समय अध्ययन समितिले जियो फिजिकल सर्भे गरेर जमिनको अवस्था बुझेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्