
साउदी अरबको राजधानी रियादमा सोमबार अमेरिका र रुसका अधिकारीबीच युक्रेनमा सम्भावित शान्ति सम्झौताका लागि वार्ता शुरू भएको छ ।
वार्ता युक्रेन र अमेरिकाबीच आइतबार भएको छलफलपछि यो वार्ता भएको हो । यसलाई लिएर युक्रेन उत्साहित देखिएको छ । युक्रेनका रक्षामन्त्री रुस्तेम उमेरोभले यो वार्तालाई 'शान्ति स्थापनामा केन्द्रित' भनी टिप्पणी गरेका थिए ।
तर, वार्ताको माहोलमा पनि रुस र युक्रेनबीच रातभर आक्रमण जारी रहेको छ । यसले शान्ति प्रक्रियामा ठूलो चुनौती देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रियादमा रहेका बीबीसीका संवाददाता फ्रान्क गार्डनरले सोमबारको वार्ता 'सीमित युद्धविराम'मा सहमति गर्ने लक्ष्यमा केन्द्रित छ ।
यो युद्धविरामले मुख्य रूपमा ब्ल्याक सी क्षेत्रमा जहाजको आवागमनलाई सुरक्षित बनाउने र त्यसबाट पूर्ण युद्धविरामतर्फ अघि बढ्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
तर, वार्ता चलिरहँदा रुसले युक्रेनमाथि रातभर ९९ वटा आक्रमणकारी ड्रोन प्रहार गरेको युक्रेन युक्रेनको दाबी छ ।
रुसले ड्रोन आक्रमणमार्फत युक्रेनको राजधानी कीभसहित खार्किभ, सुमी, चेर्निहिभ, ओडेसा र डोनेत्स्क क्षेत्रलाई निशाना बनाएका छन् ।
रुसको ड्रोन आक्रमणले कीभमा ठूलो क्षति पुर्याएको छ । शनिबार रातिको आक्रमणमा एक ५ वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
युक्रेनको सैन्य प्रशासनले यो आक्रमणलाई रुसको 'आतङ्ककारी रणनीति' भएको भन्दै आक्रोश व्यक्त गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ दबाब आवश्यक रहेको बताउँदै यस्ता आक्रमण रोक्न पश्चिमी देशलाई थप सहयोगको आह्वान गरेका छन् ।
यता, युक्रेनले पनि रुसमाथि जवाफी आक्रमण गरेको छ । रुसी सेनाले रातभरमा युक्रेनले प्रहार गरेका २८ वटा ड्रोनलाई नष्ट गरेको दाबी गरेको छ ।
साथै, युक्रेनको विशेष सैन्य बल (एसएसओ)ले रुसको बेल्गोरोद क्षेत्रमा लुकाएर राखिएका चारवटा सैन्य हेलिकप्टर नष्ट गरेको दाबी गरेको छ ।
यीमध्ये दुईवटा सैन्य हेलिकप्टर थिए भने दुई वटा एमआई-८ परिवहन हेलिकप्टर रहेको युक्रेनको दाबी । यो आक्रमणमा अमेरिकी हिमार्स मिसाइल प्रयोग गरिएको युक्रेनले जनाएको छ ।
साउदी अरबमा भइरहेको वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको हो । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छुट्टाछुट्टै कुराकानी गरेपछि यो वार्ताको वातावरण बनेको हो ।
अमेरिकी विशेष दूत स्टिभ विटकफले वार्तामा 'वास्तविक प्रगति' हुने अपेक्षा व्यक्त गरेका छन् । उनले ब्ल्याक सीमा युद्धविरामबाट शुरू गरेर पूर्ण युद्धविरामतर्फ अघि बढ्ने योजना रहेको बताएका छन् ।
तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ता निकै कठिन भइरहेको भन्दै यो शुरुवात मात्र भएको जनाएका छन् ।
सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको ब्ल्याक सी सम्झौतालाई पुनर्जन्म दिने अपेक्षा यो वार्तामार्फत गरिएको छ ।
उक्त सम्झौताले युक्रेनको अन्न निर्यातलाई सुरक्षित बनाएको थियो । तर, रुसले सन् २०२३ मा पश्चिमी प्रतिबन्ध नहटेको भन्दै सम्झौताबाट बाहिरिएको थियो ।
अहिले रुसले ब्ल्याक सीमा आफ्नो सैन्य उपस्थिति हुनुपर्ने दाबी गरिरहेको छ । तर, वार्ताको सकारात्मक माहोलका बाबजुद रुस र युक्रेनबीचको सैन्य कारबाहीले शान्ति प्रक्रियामा ठूलो चुनौती थपेको हो ।