१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

कुलमान घिसिङ प्राधिकरणबाट ‘आउट’देखि टीआरसी टुंग्याउन सर्च कमिटीसम्म

चैत १२, २०८१
काठमाडौं
कुलमान घिसिङ प्राधिकरणबाट ‘आउट’देखि टीआरसी टुंग्याउन सर्च कमिटीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

उनको ठाउँमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । २० दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यसम्पादन मूल्यांकनका आधारमा पदबाट किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो ।
००००
मन्त्रिपरिषद् बैठकले नै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा सिफारिस समिति (सर्च कमिटी) गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि तीन दलको बैठकमा सर्च कमिटी गठन गर्ने समझदारी बनेको थियो । 
००००

सहकारी ठगी प्रकरणमा मुद्दा झेलिरहेका रास्वपाका सभापति रवि लामिछानेले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको सांकेतिक विरोध गरेका छन् । 

सोमबार मध्यराति फेसबुक लाइभमा आएका उनले केही नबोलिकनै बलिएको बिजुली बत्ती एकाएक निभाए । त्यसपछि उनले मैनबत्ती सल्काएका थिए । यस्तै कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र माओवादीले कुलमान हटाउने निर्णयको विरोध गरेका छन् । 
००००
पर्याप्त आधार र तयारीविना नै विरोध प्रदर्शन घोषणा गरेका राजावादीहरू शुरूबाटै अन्योलमा देखिएका छन् । 

राजसंस्था पुनःस्थापनाका लागि सडकमा विरोध प्रदर्शन गर्दै आन्दोलन नै छेड्ने दाबी उनीहरूको छ । अस्पष्ट मुद्दा, कमजोर तयारी र शक्ति सामथ्र्यको कमजोरीले प्रदर्शन शुरू नहुँदै राजावादीहरू रक्षात्मक बन्न पुगेका छन् ।
००००
बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

टिकट खरिदबिक्रीको लागि बनाइएको अनलाइन कम्प्युटर प्रणाली (सफ्टवेयर)मा अनधिकृत रूपमा पहुँच र्पुयाई गैरकानूनी रूपमा विभिन्न हवाई टिकट बनाएर बेचेको उनीहरूमाथि आरोप छ ।
००००
नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।
सोमबार राति सम्पन्न अधिवेशनबाट  पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड सोमबार दिउँसो शीतल निवास पुगेका हुन् ।
००००
नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी भएका छन् । मतदान भएको दुई दिनपछि गरिएको मतगणनामा चम्लागाईं भारी मतान्तरले विजयी भएका हुन् ।

उनले ३५१ मत ल्याउँदा प्रतिस्पर्धी उम्मेदवार धेरै पछाडि परे । अध्यक्षका उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत मात्रै प्राप्त गरे । यता थापाको नेतृत्वमा लगत्तै समानान्तर समिती घोषणा गरिएको छ । 
००००
लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । करिब दुई सातादेखि निरन्तर ओरालो झरिरहेको नेप्से सोमबार २६.१० अंकले बढेर २६४०.७८ को विन्दुमा बन्द भएको हो । 

लगातार ६ कारोबारका दिन दोहोरो अंकले घटेको सेयर बजारमा सोमबार दोहोरो अंकले बढेको हो ।
००००
सत्तारूढ नेकपा एमालेले पार्टीको सचिवालय बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीले बोलेको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित भएको स्पष्ट पारेका हुन् ।
००००
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्यामा श्रीमतीको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतका अनुसार सिर्जनाको उनकै भिनाजु नाता पर्ने व्यक्तिसँग ‘सम्बन्ध’ थियो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको बताए । 

‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्