
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ । सरकारले घिसिङलाई बदनियतपूर्वक हटाएको रास्वपाको ठहर छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै घिसिङलाई वित्तीय सुधार रोक्न र बक्यौता उठाउन नदिन सरकारले दुष्प्रयास गरेको जनाएका छन् ।
संविधानले नचिन्ने दुई दलीय संयन्त्रको सहमतिमा भएको निर्णय जनविरोधी भएको रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'बिचौलियालाई संरक्षण गर्ने योजनाअनुसार नै उनलाई हटाइएको हो । संविधानले नचिन्ने दुई दलीय संयन्त्रको सम्मतिमा भएको यो निर्णय जनविरोधी छ, यसले युवाहरूलाई निरुत्साहित गरेको छ,' जारी विज्ञप्तिमा भनिएको छ ।
भ्रष्टाचार, बेरोजगारी, सार्वजनिक सेवा र कूटनीतिमा देखिएको असफलता सरकारको अक्षमताको प्रमाण भएको समेत रास्वपाले जनाएको छ ।
सरकारले भ्रष्टाचारी जोगाउने र बिचौलियालाई पोस्ने काम गरिरहेको आरोप लगाउँदै रास्वपाले शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने जनाएको छ।
