
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले समाजलाई आमूल परिवर्तनको लागि निःस्वार्थपूर्वक सेवा गर्ने नयाँ पुस्ता देशका लागि तयार हुनुपर्ने बताएका छन् । ख्वप कलेजले आयोजना गरेको शिक्षकशिक्षिका अन्तक्र्रियामा उनले देशको हरेक घटना र विचारलाई व्यापक दृष्टिकोणले हेर्दै निस्वार्थ भावनाल काम गर्ने जनशक्ति तयार पार्नुपर्ने बताए ।
समाजवाद ल्याउन एक ऐतिहासिक युग लाग्न सक्ने भएकाले अहिलेदेखि नै यससम्बन्धी कार्यलाई निरन्तरता दिनुपर्ने बताउँदै अध्यक्ष विजुक्छेले भने, “हाम्रो गतिविधि र आचरण समाजवादी विचारधारासँग मिल्नुपर्छ । त्यसका लागि समाजवादी विचारधाराले तडकभडकलाई निरूत्साहित र शारीरिक श्रमलाई सम्मान गर्दै उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।”
व्यक्तिगतभन्दा सामूहिक हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले व्यक्तिवादी सोच र प्रवृत्ति त्याग्दै नैतिकरूपमा पतन हुने कुनै कार्यमा नलाग्न आग्रह गरे ।
कार्यक्रममा कलेजका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशभरका पालिकाले देश र जनताको हितका लागि काम गर्नपर्ने बताए ।