
उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
आज नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विक्रम संवत् २००७ सालको क्रान्तिपछि आएकाले अब समय अनुकूल शिक्षा दिन सक्नुपर्ने बताए ।
हाल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरूले शिक्षा विधेयकमाथि स्थानीय तहहरूका धारणा र सुझाव राखेका थिए ।
विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव शिक्षा विधेयकमा समेट्न विमर्श कार्यक्रम आयोजना गरेको जानकारी दिए ।