
आफूलाई प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिका गरगहना लुटपाट गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४१ वर्षीय दिपेश लाल चित्रकार रहेका छन् ।
उनले लुटेका गरगहना स्वयम्भू आनन्दकुटी नजिकै बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चित्रकारलाई कानून बमोजिम खानतलासी गर्दा उनको साथबाट बिल बिजकबिनाका विभिन्न गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनको साथबाट पोतेसहितको सुनजस्तो देखिने धातु जडित नौगेडी माला ११ थान, पोतेसहितको सुनजस्तो देखिने धातु जडित सिङगल गेडी माला ७ थान, क्रिष्टलसहितको सुनको जस्तो देखिने माला १३ थान, पोतेसहितको सुनजस्तो देखिने धातु जडित मंगलसुत्र ६ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी, पोतेसहितको सुनजस्तो देखिने धातु जडित सोली गेडी माला एक थान, पत्थरसहितको सुनको जस्तो देखिने धातु जडित टप ३ जोर, पोते नभएको सुनको जस्तो देखिने धातु जडित तिलहरी १ थान, सुनको जस्तो देखिने धातु जडित विभिन्न डिजाइनका क्लिप ९ थान, मोतीजस्तो देखिने पत्थरसहितको सुनको जस्तो देखिने धातु जडित ३ गेडी मोती माला ३ थान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोतीजस्तो देखिने मालासहितको सुनको जस्तो देखिने धातु जडित मोती लकेट माला १ थान, मोतीजस्तो देखिने पत्थरसहितको सुनजस्तो देखिने धातु जडित मोतीहार १ थान, सुनको जस्तो देखिने धातु जडित औंठी २४ थान, पत्थरसहितको सुनजस्तो देखिने धातुबाट बनेको स-साना फुली १९ थान र सुनको जस्तो देखिने धातु जडित स-साना गेडी ३ थान समेत बरामद भएको छ ।