
यही चैत्र ४ गतेबाट काठमाडौंमा सञ्चालन भएको विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास सम्पन्न भएको छ ।
मल्टिनेशनल प्लानिङ आगुमेन्टेशन टिम टेम्पेस्ट एक्सप्रेस बिहीबार सम्पन्न भएको हो ।
विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैरसैनिक तथा अन्य निकायबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास सञ्चालन गरिएको हो ।
नेपाली सेना तथा यूएस इन्डोपाकमको संयुक्त आयोजनामा सञ्चालन भएको अभ्यासमा नेपालबाट नेपाली सेना तथा अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैरसरकारी निकायका ५६ जना एवं विभिन्न देशका ३६ जना गरी कूल ९२ जनाको सहभागिता रहेको थियो ।
समापन समारोहमा रथीवृन्द, नेपालका लागि अमेरिकी राजदूतावासका डेपुटी चिफ अफ द मिसन, अधिकृत, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवं गैरसरकारी निकाय तथा विदेशी संघ संस्थाका उच्चस्तरका पदाधिकारीहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।