
हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पर्यटन व्यवसायीले माग गरेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन् ।
साथै व्यवसायीले हवाई भाडा महँगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिकहरु विदेशी एयरलाइन्सको प्रयोग गर्न बाध्य भएको भन्दै नेपाल आगमनलाई सहज बनाउन आग्रह गरे । टिकट महँगिएकै कारण नेपाल आगमन हुने विदेशी पर्यटकमा असर परेको व्यवसायीको दाबी छ ।
नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको भ्याटले एयरलाइन्सलाई समेत असर परेको र हवाई यात्रु महँगो टिकट खरिद गर्न बाध्य भएको बताए । हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समग्र पर्यटन क्षेत्रमा लगाइने करको नीतिगत रुपमा सहज बनाइनुपर्ने धारणा राखे । उनले आगामी आर्थिक वर्षको बजेटमा हवाई क्षेत्रलगायत पर्यटनका अन्य व्यवसायमा समेत लगाइने करमा हेरफेर गरिनुपर्नेमा जोड दिए ।
नाट्टाका पूर्वअध्यक्ष मधु आचार्यले सरकारले हवाई टिकटमा लगाएको करलाई हटाएर अन्य विकल्प खोज्न सुझाए ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष बिष्टले हवाई टिकट महँगो भएकाले नेपाल आउने विदेशी पर्यटक पनि खुम्चिएको बताए ।