
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहेका छन् ।
सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उनले गम्भीरतापूर्वक लिन्छन् र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्छन् । हालै आयोजना गरिएको एक अन्तरक्रियामा अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने बताए ।
उनले भने, “चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटु ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको होजस्तो लाग्छ ।”
स्वास्थ्य शरीर, शान्त मानसिक अवस्थासँगै आफ्नो सोच ३७ वर्षको युवाजस्तो भएका कारण काम गर्ने ऊर्जा उनलाई प्राप्त हुन्छ । नकारात्मकता आफूमा रहन नदिएकै कारण उनले गर्ने कर्मले कलाकारितासँगै समाजमा एउटा स्थान बनाएको छ । उनीसँगै मह जोडीका म अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाएका कलाकार छन् ।
रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गरेका अभिनेता आचार्यले नाटक नगरेको लामो समय भइसकेको छ । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटक उस्तै भएको अभिनेता आचार्यले बताए ।
उनले कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काखझैँ भएकाले यहाँ सिकिने कलाकारिता दिगो हुने अनुभव सुनाए ।