२६ जेठ २०८३, मंगलबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

चैत १५, २०८१
काठमाडौं
सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

काठमाडौंमा शुक्रबार दोहोरो शक्ति प्रदर्शन हुने भएको छ । गणतन्त्रवादी र राजावादीले काठमाडौंका विभिन्न ठाउँमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । 

राजसंस्था पुनःस्थापनाका लागि राजावादीले तीनकुने र गणतन्त्रवादीले भृकुटीमण्डपमा सभा गर्ने तय भएको छ ।
००००
एमाले महासचिव शंकर पोखरेलले प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रका पक्षमा गर्न लागेको जनप्रदर्शन प्रतिगमनको कुप्रयासका विरुद्धको सकारात्मक पहल भएको बताएका छन् । 

राजनीतिक दलहरूले आपसमा प्रतिस्पर्धा गर्ने भएपनि जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना गर्ने उनको भनाइ छ ।
००००
नेपालमा कुनै पनि प्रकारको लोडसेडिङ नहुने सरकारले प्रतिबद्धता दोहोर्‍याएको छ। ऊर्जा आपूर्तिलाई सुनिश्चित गर्न भारतबाट थप ६०० मेगावाट विद्युत् आयात गर्ने प्रबन्ध मिलाइएको उर्जामन्त्री दीपक खड्काले बताए । 

भारतका विद्युत् मन्त्री मनोहर लाल खट्टरसँगको सहमतिअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत रातिको समयमा थप विद्युत् आयात गर्न सकिने भएको खड्काले बताए। यसबाट नेपालमा सुख्खा मौसममा देखिएको ऊर्जा अभावलाई सहज बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
००००
रुपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्का घुस रकमसहित पक्राउ परेका छन् । 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
००००
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधान जनताको चाहना बमोजिम बनेकाले यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधानले सम्पूर्ण नागरिकलाई समेटेको उल्लेख गर्दै यसको कार्यान्वयन महत्त्वपूर्ण भएको बताए ।
००००
बिहीबारलाई तय भएको प्रतिनिधिसभा बैठक शुक्रबारका लागि सरेको छ । पहिले बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको थियो । राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ । कुलमान घिसिङ बर्खास्तीको विषयमा विपक्षीको विरोधको बैठक प्रभावित भएका हुन् । 
००००
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷०८३ को बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । यसैक्रममा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँग छलफल भएको छ ।

मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरिन् । 

उनले संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार संघमा रहेका कार्यक्रम तथा आयोजनाहरूको हस्तान्तरण, तीन तहका सरकारबीचको समन्वय र साझेदारीलाई जोड दिए ।
००००
साताको अन्तिम कारोबारका दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० को विन्दुमा कायम भएको हो । 

यस दिन ८७ लाख ७२ हजार १९६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि सिंगै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको बताएका छन् । 

महिला उद्यमी महासंघ नेपालको आयोजनामा बिहीबार ललितपुरमा शुरू भएको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक कुरामा नअल्झिएर देश विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
००००
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखले दोहोरो आवास सुविधा लिएको भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले भैँसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई आवास सुविधा दिनुको कारण खुलाउन  आदेश जारी गरेको हो । यस्तै अदालतले अन्तरिम आदेशबारे छलफलका लागि चैत २७ गते दुवै पक्षलाई बोलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्