
चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न धार्मिक श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।
जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका जनाएको छ । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।
मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनीधाममा पुगेर दिवङ्गत पितृको श्राद्ध, तर्पण र पिण्डदान गर्नाले पितृ खुसी हुने र आशीर्वाद प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । दुई वर्षअघि कागखोला बाढीले कागबेनीधाम र यहाँको भौतिक संरचनामा क्षति पुगेपछि कागबेनीमा श्राद्ध, पूजापाठ र स्नान गर्न समस्या हुँदै आएको छ ।