
सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेदको घटनामा विस्थापित भई परिवारसहित उठीबास लगाइएका दलित दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ ।
मदन भण्डारी आवास कार्यक्रममार्फत मधेस सरकारको रु पाँच लाख ६० हजार लागतमा निर्माण हुने उक्त घरमा दुई कोठा, भान्सा र शौचालय हुने जनाइएको छ । एक साताभित्रै घर निर्माण सुरु गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिपक यादव र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।
पीडित मल्लिक परिवार पाँच सय मिटर पर खोला छेउ एकान्तमा झुपडी बनाएर बसेको छ । त्यहाँ खानेपानी र बिजुलीसमेत छैन । घरै भत्काएर दलित परिवारको उठीबास लगाइएपछि जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ परेर अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । प्रहरीले घटनाको अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बिहीबार बुझाएको छ ।