
राजावादीको आन्दोलनलाई उत्तेजित र हिंस्रक बनाएर तीनकुनेबाट भागेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं धर्मगुरु भनिने पुष्कर खतिवडाको घर पुगेको पाइएको छ ।
शुक्रबार दिउँसो तीनकुने क्षेत्रलाई रणमैदान बनाउन उपस्थित राजावादीको भीडलाई उत्तेजित बनाएका प्रसाईं आफू त्यहाँबाट भागेका थिए । भागेका प्रसाईं इमाडोलस्थित खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ । उनी आफ्नो घर पुगेको खतिवडाले प्रहरीलाई बयान दिएका छन् ।
खतिवडालाई ललितपुर प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । पक्राउ परेका खतिवडालाई उदृत गर्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी श्यामकृष्ण अधिकारीले लोकान्तरलाई भने, ‘उनी तीनकुनेबाट भागेपछि खतिवडाको घर पुगेका रहेछन् । त्यहाँ १५/२० मिनेट बसेर स्याउ र केरा खाएर निस्किएका रहेछन् । अब मोबाइल अफ गर्नुपर्छ भन्दै उनी निस्किएका खतिवडाले बताएका छन् ।’
फरार प्रसाईंको खोजी तीव्र पारिएको एसएसपी अधिकारीले जानकारी दिए । ‘राति नै देश छोडेर भागेका रहेछन् भने बेग्लै कुरा नत्र हामी उनलाई जहाँ भएपनि पक्राउ गर्नेगरी खोजिरहेका छौं’, एसएसपी अधिकारीले भने ।
‘धर्मगुरु’ खतिवडा शुक्रबार भएको प्रदर्शनमा भिडलाई उत्तेजित बनाउन सक्रिय भएका थिए । उनले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए ।
राजावादीको प्रदर्शनको क्रममा शुक्रबार दुई जनाको मृत्यु भएको थियो । एक जना प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने पत्रकार सुरेश रजकको राजावादीले घरमा आगो लगाउँदा जलेर मृत्यु भएको थियो ।