१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

ज्ञानेन्द्र शाहमाथि कारबाहीको चौतर्फी दबाब, बालेनको ८ वटा पत्र

चैत १७, २०८१
काठमाडौं
ज्ञानेन्द्र शाहमाथि कारबाहीको चौतर्फी दबाब, बालेनको ८ वटा पत्र

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएका छन् । 

उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएका हुन् । यद्यपि राजीनामा स्वीकृत भने भइसकेको छैन । 

गत वर्ष फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकाले बराललाई उपकुलपति नियुक्त गरेको थियो ।
००००
काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा शुक्रबार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको चौतर्फी दबाब परेको छ । अराजक र हिंसात्मक क्रियाकलाप सिर्जना गराएर मानिसको ज्यानै जानेसम्मको घटना घटेको भन्दै ज्ञानेन्द्रमाथि कारबाहीको आवाज उठिरहेको छ । 

ज्ञानेन्द्रकै योजनामा राजसंस्था पुनस्र्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन मूल समितिको आह्वानमा शुक्रबार काठमाडौंमा प्रदर्शन राखिएको थियो ।  २५ फागुनमा पोखराबाट काठमाडौं फर्किएका ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्र्म यालीसहित र्पुयाइएको थियो । यसबाट उत्साहित हुँदै ज्ञानेन्द्रकै योजना र सल्लाहमा शुक्रबारको कार्यक्रम राखिएको थियो ।

उनैले संयोजक बनाएका नवराज सुवेदीको समितिले अराजक स्वभावका दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको थियो ।
००००
राजावादी समूहले  राजधानीको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ७१ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् । 

नेपाल प्रहरीतर्फ ५० जना र सशस्त्र प्रहरीतर्फ २१ जना डिस्चार्ज भएका हुन् । सो घटनामा हालसम्म ११३ जना पक्राउ परेका छन् । 
००००
नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा भएको हिंस्रक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने निष्कर्ष निकालेको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले शुक्रबार राजावादीको आन्दोलनमा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेको हो ।
००००
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मी हेरफेर गरेको छ।

लामो समयदेखि उनीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई हेरफेर गरिएको हो । 
विशेष गरी भीभीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना संगठनलाई दिन छाडेपछि हेरफेर गर्नुपरेको उच्च सुरक्षा स्रोतले जानकारी दियो। 
००००
जिल्ला प्रहरी परिसर, काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद डा धवलशम्शेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ । 

नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
००००
प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जिउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।

उनले जस्तोसुकै विषम परिस्थितिमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने समेत बताएका छन् । 
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतातिर फर्किन तयार भए सत्तारूढ दलहरूसँग सहकार्य हुन सक्ने बताएका छन् । 

प्रेस सेन्टर नेपालको महाधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर आत्मसमीक्षा गरे सहकार्य हुने बताएका हुन् ।
००००
बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ । 

शुक्रबार उनको समर्थनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो । यससम्बन्धी ८ वटा पत्र महानगरले काटेको छ । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार बिहान ११ बजे बसेको केन्द्रीय सचिवालय (भर्चुअल) बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाले दोषीलाई कानूनी दायरामा ल्याउन पनि माग गरेको छ ।
००००
राजावादीहरूको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको छ ।

स्थापना दिवसमा पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगितगरी महासंघले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । यसैबीच आन्दोलनमा अराजक गतिविधि गर्ने दुर्गा प्रसाई हालसम्म फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्