
गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा वर्तमान व्यवस्थालाई नै सुधार गरेर जानुपर्नेमा बताएका हुन् ।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । गल्ती र कमजोरी भएको छ भने सुधारेर जाने हो । नागरिकले प्रश्न गर्ने हो । सुधार गर्ने हो । कुनै लोकतन्त्रको विरुद्ध निरंकुशता हुन सक्दैन,’ उनले भने, ‘राष्ट्रप्रति र नागरिकप्रति हामीलाई जिम्मेवारी बोध भएको छ । सुधारेर जानेमा प्रतिबद्ध छौं । हुकुम नै कानून हुने राजतन्त्रको पद्धति उचित होला भनेर कर्णधार युवा पुस्ताले भ्रममा पर्नुहुँदैन । यही व्यवस्थालाई सुधारेर जानुपर्छ ।’
गृहमन्त्री लेखकले राजाको निरंकुश शासनको बारेमा थाहा नभएकाहरू भ्रममा बस्न नहुने भन्दै राजाहरूलाई प्रश्न गर्न नपाइने इतिहास स्मरण गराए । ‘राजतन्त्रको शासन नदेखेको मान्छे पनि यहाँ हुनुहुन्छ, १८ वर्षअघि राजाको शासन थियो । अहिले युवाहरूलाई राजसंस्थाबारे केही थाहा नहुन सक्छ, राजाको शासनमा आलोचना गर्न पाइन्छ कि पाइँदैन भनेर सोध्नुहोस् ? मैले बुझेको राजतन्त्रमा राजालाई प्रश्न गर्न पाइँदैन । प्रश्न गर्ने कोशिश गर्यो भने जेल जानुपर्छ । जति यो देशमा राजाको शासन रह्यो, कुनै पनि नागरिकले राजालाई प्रश्न गर्न सकेनन् । आज प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई प्रश्न गर्दैछौं,’ उनले भने ।
राजाले गल्ती गर्दा पनि कानुनी कारबाही नहुने भन्दै लोकतन्त्रमा गल्ती गर्दा सबैमाथि कारबाही हुने गृहमन्त्री लेखकको भनाइ छ । ‘राजाले गल्ती गर्यो भने राजामाथि कानूनी कारबाही पनि हुन्छन् । लोकतन्त्रमा त गल्ती गर्दा सबैमाथि कारबाही हुन्छ । हामीले फेरि त्यही व्यवस्था चाहेको हो ?,’ उनको प्रश्न छ ।
आलोचनाभन्दा बाहिर र संविधानभन्दा माथि हुकुमै कानून हुने राजतन्त्रको पद्धति उचित हुन्छ भनेर युवाहरू भ्रममा परे देश अँध्यारोमा जाने गृहमन्त्री लेखकले बताए । राजाको शासन कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखिएको उनको भनाइ छ ।
‘राजाको शासन चरित्र कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखियो । हामी राजाका समर्थक हौं । फेरि यो देशमा राजा ल्याउँछौ भनेर ज्यूँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो तरिका ? राजाको शासन ल्याउँछु भन्नेहरूबाट घरमा आगो लगाएर पत्रकारलाई ज्यूँदै पोल्ने काम भएको छ । यसमा म दुःख व्यक्त गर्न चाहन्छु । उद्योगीहरूलाई पसलमा ढुंगा मुढा गरियो । लुटपाट मच्याउने काम भयो ,’ उनले भने ।
मुलुकमा लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित, प्रतिबन्धित र निर्देशित हुने भन्दै वर्तमान सरकारले सञ्चारको सुरक्षा गर्ने गृहमन्त्री लेखकले बताए ।