१८ असार २०८३, बिहीबार

६ दिन सार्वजनिक बिदासहित यस्ता छन् कर्णाली सरकारका ७ निर्णय

चैत १७, २०८१
सुर्खेत
६ दिन सार्वजनिक बिदासहित यस्ता छन् कर्णाली सरकारका ७ निर्णय

कर्णाली प्रदेश सरकारले चालू हिउँदे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चालू हिउँदे अधिवेशन भोलि (सोमबार) राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

यस्तै, सरकारले आगामी वर्ष २०८२ मा विभिन्न ६ वटा सार्वजनिक बिदा दिने भएको हो ।

‘राष्ट्रिय धान दिवसका रूपमा असार १५ गते प्रदेशका नौ जिल्ला र चैत १२ गते जुम्ला जिल्लामा बिदा दिइनेछ । साउने सङ्क्रान्ति एवं देउडा दिवस साउन १ गते, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवसको अवसर पारी बिदा दिने निर्णय भएको छ,’ उनले भने, ‘संघीय सरकारले दिने सार्वजनिक बिदा नगाभिने गरी असोज ३ गते जुम्लामा चन्दननाथको लिङ्गो बोक्ने दिन, कोजाग्रत पूर्णिमा र चैते दशैंमा बिदा दिने निर्णय भएको हो ।’

उनका अनुसार विभिन्न प्राकृतिक प्रकोपबाट किसानलाई क्षति भएको र त्यो क्षतिपूर्तिका लागि प्रदेश सरकारले दैवी प्रकोप राहत कोषबाट दैलेख, हुम्ला र मुगु जिल्लाका लागि ७३ लाख ८२ हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै, कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयकको स्वीकृत मन्त्रिपरिषद्ले गरेको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । यी दुवै विधेयक आगामी अधिवेशनमा प्रदेशसभामा दर्ता गरिने प्रवक्ता शाहले जानकारी दिए ।

यस्तै, उर्जा मन्त्रालय अन्तर्गत लागत साझेदारीसम्बन्धी बजेट व्यवस्थापन क्रमागत रूपमा सुनिश्चित गर्न ९४ लाख १४ हजार रुपैयाँको अख्तियारी दिएको हो ।

सोही मन्त्रालयअन्तर्गत बजेट हस्तान्तरण शीर्षकमा १ करोड ५० लाखको अख्तियारी बैठकले दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्