
ईरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् । ईरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने उनले बताए ।
केवल अप्रत्यक्ष वार्ताका लागि मात्रै तयार रहेको उनले स्पष्ट पारे । ट्रम्प प्रशासनले तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिएको छ ।
राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि भने कि अमेरिका पहिले आफ्नो गल्ती सुधार्नुपर्छ। उनका अनुसार, जबसम्म अमेरिका विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव छैन । ईरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत् पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।
ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको बताए ।