
प्रधानमन्त्री केपी शर्मा ओली बोल्दै गर्दा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अवरोध गरेपछि संसद्मा हंगामा भएको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर सम्बोधन गरेका ओलीले पूर्वराजाको विषयमा बोल्न थालेपछि शाहीले नियमापत्ति गरेका थिए । ओलीले नियमावलीविपरीत कसैलाई होच्चाउने अभिव्यक्ति दिएको भन्दै शाहीले आपत्ति जनाएका थिए ।
शाहीलाई ओलीले जवाफ फर्काए– ‘नियमावलीको होइन– संविधान उल्लंघन गर्ने र व्यवस्था मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु ।’
ओली बोलेपछि सभामुख देवराज घिमिरेले शाहीलाई बोल्न समय दिए । ओलीले कथित स्वागत भनेर होच्चाउने काम गरेको शाहीले आरोप लगाए ।
शाहीलाई बोल्न समय दिएको भन्दै कांग्रेस र एमालेले आपत्ति जनाए । ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिइएपछि कांग्रेस–एमाले सांसदले उठेर विरोध जनाएका थिए ।
सभामुखसँग समय लिएर एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौंलाले गणतन्त्रको संसद्मा व्यवस्थाविरोधी कुरा गर्न नपाइने बताए ।
‘प्रधानमन्त्री बोल्दै गर्दा अवरोध गरेर नियमावली मिच्ने काम भएको छ, गणतन्त्रको संसद्मा राजाको कुरा खारेज गर्नुपर्छ’ बर्तौलाले भने ।
विशेष समयमा बोल्ने क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री बोलिरहेको समयमा अवरोध गर्न नपाइने बताए । पूर्वराजाको विषय प्रवेश गरेपछि संसद्मा अवरोधको सृजना भएको हो ।