
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको सञ्चार दरबन्दीमा कार्यरत एक जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा प्रहरी सहायक निरीक्षक कुमार गिरीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार श्यामकुमार गिरी भनिने कुमार गिरीले नेपाल प्रहरी सेवामा प्रवेश गर्दा बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तह (एसएलसी सरह)को झुट्टा प्रमाणपत्र पेश गरी २०५७ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए ।
उनी पछि पदोन्नति हुँदै हाल सिन्धुली प्रहरी कार्यालयको सञ्चार शाखामा प्राविधिक प्रहरी सहायक निरीक्षकका रूपमा कार्यरत छन् ।
अनुसन्धानका क्रममा गिरीले नक्कली प्रमाणपत्रको आधारमा सेवा प्रवेश गरी प्रहरी सेवामा विभिन्न लाभ तथा सुविधा लिएको पुष्टि भएको आयोगको दाबी छ ।
सोही आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जनाएका छन् ।