२५ जेठ २०८३, सोमबार

मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन : मतदान सम्पन्न, २८ सय ६४ मत खस्यो

चैत १८, २०८१
सुर्खेत
मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन : मतदान सम्पन्न, २८ सय ६४ मत खस्यो

मध्यपश्चिम विश्वविद्यालयमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा २ हजार ८ सय ६४ ​मत खसेको छ ।​

सोमबार बिहानदेखि भएको मतदानमा २८ सय ६४ मत खसेको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

चार हजार तीन सय ८३ मतदाता रहेको विश्वविद्यालयमा एक हजार पाँच सय १९ विद्यार्थी मतदानमा सहभागी भएनन् । निर्वाचन समितिका अनुसार मतपेटिका संकलनपश्चात बस्ने सर्वपक्षीय बैठकपछि मतगणना शुरू हुनेछ ।

मतदानबाट तीन पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ । स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ ।

दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । 

त्यसपछि कार्यसमितिमा पाँच पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।

स्ववियु नेतृत्वविहीन भएको ६ वर्षपछि विश्वविद्यालयमा निर्वाचन भएको हो । ८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ ।

२०७३ भदौमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । तर, तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले कार्यकाल पूरा नहुँदै २०७५ मंसिरमा स्ववियु विघटन गरिदिएका थिए । तत्कालीन रजिस्ट्रारलाई बर्खास्त गरिएको विषयमा स्ववियुले विरोध जनाएपछि कोइरालाले उक्त कदम चालेका थिए ।

अनेरास्ववियुले जगतजंग शाहीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । नेविसंघले विवेक खड्का र अखिल क्रान्तिकारीले प्रकाश विकलाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।

अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट अध्यक्षमा चिनबहादुर सहकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार बनेकी छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली र मिलन बिसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्