
आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा चार वटा एडभेन्चर थपिएका छन् । द थ्रि एडभेन्चर प्रालिले साहसिक खेल मानिने जीपलाइन, स्काइ साइकिलिङ, र्याप्लीङ्ग र स्वीङ (पिङ) सञ्चालनमा ल्याएको हो ।
एडभेन्चरको सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले एक कार्यक्रमका बीच उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले वनवाटिकामा निर्माण भएका संरचनाले थप आकर्षण प्रदान गर्ने बताए ।
पालिकाले यी र यस्ता साहसिक खेलको प्रवर्द्धनको लागि सधैं तयार रहेको भन्दै उनले जसले पर्यटन तान्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
द थ्री एड्भेन्चर प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश ज्ञवालीले अहिले निर्माण भएका ४ वटा खेलसँगै थप ६ वटा थप्ने योजना रहेको जानकारी दिए । स्काइ वाक, ह्याङ्गीङ्ग क्याफे, बोटिङ, संसारकै सबैभन्दा अग्लो बन्जी स्टेसन, फिस टनेल लगायतका संरचना निर्माण गर्ने सञ्चालकको योजना छ ।
कार्यक्रममा बोल्दै आन्सी मल्टीनेशनलका अध्यक्ष लेखनाथ न्यौपानेले साहसिक खेलमा अझै थप गर्ने गरी दीर्घकालीन रूपमा समेत वनवाटिलाई आकर्षणको केन्द्र बनाउने बताए ।
एडभेन्चर सञ्चालकमा घनश्याम पाण्डे, रवि भट्टराई, सुरज गौतम र चन्द्रकान्त कान्त पाण्डे रहेका छन् ।
उक्त संरचना निर्माणका लागि शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसँग प्रति महिना ६५ हजार ५५० रुपैयाँ तिर्ने गरी सम्झौता गरेको छ ।
उनका अनुसार शुभारम्भ उत्सवको अवसरमा सेवा लिन आउने ग्राहकलाई विशेष छुटसमेत प्रदान गरिनेछ ।
साइकिलिङ र जीपलाइनका लागि ३५०, पिङका लागि २०० र र्याप्लीङ्गका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ ।
२ करोड २५ लाख रुपैयाँको लगानीमा लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य वनवाटिकामा नयाँपन थपिएको हो ।