२३ जेठ २०८३, शनिबार

महोत्तरीमा १५ दिनमै १३ क्विन्टल गाँजा बरामद

चैत १९, २०८१
महोत्तरी
महोत्तरीमा १५ दिनमै १३ क्विन्टल गाँजा बरामद
फाइल तस्वीर

महोत्तरीमा १५ दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।

पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिए । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्दा ट्रकको हुटमाथि प्लाष्टिकमा बेरिएको दुई क्विन्टल ३५ किलो गाँजा बरामद गरिएको थियो ।

गाँजासँगै ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । यसअघि यही चैत ३ गते सोही ठाउँमा सिन्धुलीबाट बर्दिबासतर्फ आइरहेको बा३ख ५८३२ नम्बरको ट्रक जाँचका क्रममा ५४७ किलोग्राम गाँजा बरामद गरिएको थियो । चालक सिन्धुपाल्चोकको बाह्रबिसे–७ का ३७ वर्षीय सलिन मगरलाई पक्राउगरी कारबाही अघि बढाइएको छ ।

यस्तै, ब्यूरोको टोलीले चैत ८ गते ढल्केबर जनकपुर सडकखण्डको लक्ष्मीनियाँचोकमा मधेस प्रदेश–०३–००२–ख २५२० नम्बरको ट्रक जाँचका क्रममा पाँच क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो । 

यस क्रममा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिन्तानलाई पक्राउ गरी आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

पहाडी जिल्लाबाट ठूलो परिमाणमा गाँजाको ओसारपसार हुँदै आएको छ  । गाँजा तस्करले महोत्तरीको बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएका छन् । बर्सेनि बर्दिबास सेरोफेरोबाट ठूलो परिमाणमा गाँजा बरामद गरिँदै आएको छ । भरिया र  चालक पक्राउ परेपनि मुख्य कारोबारीसम्म प्रहरी पुग्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्