०७ असार २०८३, आइतबार

नबोलेर चुनाव जितेका दीपक बोहोरा बोल्नै नपाई अस्ताए

चैत १९, २०८१
बुटवल
नबोलेर चुनाव जितेका दीपक बोहोरा बोल्नै नपाई अस्ताए

कोरोना भाइरस संक्रमणका बेला बिरामी परेका प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता दीपक बोहोराको निधन भएसँगै रूपन्देही क्षेत्र नम्बर–३ को संघीय संसद्‌मा प्रतिनिधित्व रिक्त भएको छ ।

७५ वर्षीय सांसद बोहोराको उपचारका क्रममा काठमाडौंस्थित ओम अस्पतालमा मंगलबार बिहान निधन भएको भएको हो । राप्रपा रूपन्देहीका नेता अजयकुमार गुप्ताले बोहोराको शव मंगलबार गृहनगर भैरहवा ल्याएर पुनः काठमाडौं लगेर बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको बताए ।

गत निर्वाचन (२०७९)मा एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका बोहोराले बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई हारको स्वाद चखाएका थिए । 

चुनावी मैदानमा समेत एक शब्द नबोली निर्वाचन जितेका बोहोराले लामो समय उपचारमै बिताए । तर, स्वास्थ्यमा सुधार भएन । स्वास्थ्य जटिलताका कारण संसद्‌मा एक शब्द पनि बोल्न नपाएका बोहोरा मंगलबार अस्ताए ।

चुनावताका आवाज नसुने पनि रूपन्देहीका मतदाताले बोहोराको मन बुझेर जिताएको चर्चा भएको थियो । कोरोना महामारीको बेला घाँटीको समस्या भएका बोहोरा चुनाव जितेपछि संसद्‌को अधिकांश बैठकमा अनुपस्थित रहे । बोहोरा लगातार २७ बैठकमा अनुपस्थित रहेको सूचना मंगलबार सदनमा सभामुखले सुनाएका थिए । 

यो पनि पढ्नुहोस्- खाँण पक्राउपछि चर्चा प्रतिस्पर्धीको : नबोली चुनाव जितेका बोहोरा अझै किन छन् चुपचाप?

रूपन्देहीमा पाँच दशकदेखि राजनीति गरेका बोहोराको निधनले जिल्लाको समग्र विकासमा समेत क्षति पुगेको यस क्षेत्रका नेताहरूको प्रतिक्रिया छ । बोहोराको चुनावी अभियानमा खटिएका एमाले रूपन्देही उपाध्यक्ष हितराज पन्थीले रूपन्देहीले एउटा पाको र अनुभवी नेता गुमाउन पुगेको बताए ।

‘एमालेले आफ्नो प्रतिबद्धता पूरा गर्नेगरी गएको निर्वाचनमा बोहोरालाई जिताएको हो’, पन्थीले लोकान्तरसँग भने, ‘बोहोराको निधनले जिल्लाको विकास क्षति पनि पुगेको छ ।’ राजनीतिको क्षेत्रमा बोहोराको अभाव लामो समयसम्म खड्किरहने नेता पन्थीको भनाइ छ । 

बोहोरा रूपन्देहीमा विकासको आधारभूत जग बसाउने नेताका रूपमा चिनिन्छन् । अन्न भण्डारमा सिँचाई पुर्‍याउने भैलुभूजको शुरूआत, विमानस्थल विस्तार, खानेपानी र सडक आयोजनामा अगुवाइ, आन्तरिक बाइपासका रणनीतिक सडकहरूको विस्तारको योजना उनकै पहलमा स्थापना भएको राप्रपा नेताहरू बताउँछन् । 

बोहोराले स्वास्थ्यका कारण संसद्‌मा ‘भूमिका निभाउन नसक्दा’ रूपन्देही क्षेत्र नम्बर–३ को विकास निर्माणदेखि जनताका एजेन्डा ओझेलमा परेका थिए । 

‘सांसद आएनन्, कहाँ गए, थाहा पाइएन भनेर जनताले हामीलाई पनि बेला–बेला सुनाउने गर्थे । सांसद गुमनाम हुँदा जिल्ला सदरमुकाम र ठूलो जनघनत्व भएको क्षेत्र ‘टुहुरो’ जस्तो बन्न पुगेको थियो’, राप्रपाका एक नेता भन्छन् । 

यो पनि पढ्नुहोस्- जनप्रतिनिधिको स्वर नखुल्दा ‘टुहुरो’ बनेको एउटा निर्वाचन क्षेत्र

बोहोराले पञ्चायतकालमा खरो भाषण गरी समर्थकलाई जुरुक्कै उचाल्ने गरेको चर्चा हुन्थ्यो । पञ्चायतकालदेखि रूपन्देहीबाट सांसद र मन्त्री हुँदै आएका बोहरा २०३० देखि रूपन्देहीको राजनीतिमा जोडिएका थिए । नेता बोहोराको संसदीय यात्रा २०३६ सालदेखि शुरू भएको थियो भने रूपन्देहीबाट २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यका रूपमा चुनिएका थिए । 

त्यसअघि २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बनेका बोहरा २०५७ मा बैंक अफ काठमाडौंको अध्यक्ष बनेका थिए । बोहरा २०६७ मा वन तथा भू-संरक्षण मन्त्री बनेका थिए भने सँगै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्नसक्ने व्यवस्था रहेको छ । 

२०७० मा रूपन्देही– २ बाट संविधानसभा सदस्य निर्वाचित उनी २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ मा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए । भैरहवा निवासी बोहरा २००७ साल चैत १८ गते पाल्पामा जन्मिएका हुन् । 

कमेन्ट गर्नुहोस्