२९ जेठ २०८३, शुक्रबार
सन्दर्भ : राजावादीको हिंसात्मक प्रदर्शन

राजावादीको वितण्डाबारे बोले अरू, बोलेनन् शेखर !

चैत १९, २०८१
काठमाडौं
राजावादीको वितण्डाबारे बोले अरू, बोलेनन् शेखर !

चैत १५ गते काठमाडौंमा राजावादी दल र समूहले मच्चाएको वितण्डाबारे दलका नेताहरू बोलिरहेका छन् । दुई जनाको ज्यान जाने गरी अराजकता मच्चाएको भन्दै विरोधका शब्द खर्चिन बाँकी राखेका छैनन् । सत्तापक्ष, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी, मधेशकेन्द्रित दल र अन्य दलका नेताले कडा शब्दमा घटनाको निन्दा र भर्त्सना गरेका छन् । 

आन्दोलनमै सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घटना हिंसात्मक भएको कुरा स्वीकारेको छ । न्यायिक समिति बनाएर घटनाको सत्य–तथ्य बाहिर ल्याउन माग गरेको छ । तर, कांग्रेसको भावी नेतृत्वका लागि अभियान चलाइरहेका कांग्रेस नेता डा. शेखर कोइराला राजावादीको वितण्डाबारे अस्वाभाविक ढंगले मौन रहँदै आएका छन् । 

अघिपछि शेखरमा सामान्य विषयमा पनि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरिहाल्ने स्वभाव थियो ।

null

राजसंस्था पुनःस्थापनाका लागि राजावादी दल र समूहले गरेको विरोध प्रदर्शन अराजक बन्न पुग्यो । एकजना पत्रकार जलाएर मारिएको अवस्थामा भेटिए । 

व्यापारिक केन्द्र, कार्यालय, नेकपा एकीकृत समाजवादीको कार्यालय, जडिबुटीको सञ्चो औषधि कारखानादेखि अन्नपूर्ण मिडियाको अफिससम्म आगो लगाउने र तोडफोड गराउने हिंसात्मक घटना भयो । भाटभटेनी स्टोरमा लुटपाटदेखि सर्वसाधारणका घर, कार्यालय, सरकारी सवारी र सम्पत्तिमा समेत तोडफोड, लुटपाट र आगजनीका गम्भीर घटना भए । सिंगो देश र समाज तरंगित हुन पुग्यो । 

घटनाबारे पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक विज्ञप्ति निकालेर ‘तोडफोड, हिंसा, अराजकताको निन्दा गरौं, शान्ति र संविधानकै मार्गबाट अघि बढौं’ भनेर विज्ञप्ति निकाले । सभापति शेरबहादुर देउवाले राजा नहुँदा नै पूर्वराजा ज्ञानेन्द्रले यस्तो हर्कत गराएको भन्दै आलोचना गरे ।

‘काठमाडौंमा हिजो पूर्वराजाको नाममा अराजकता निम्त्याउने र हुलहुज्जत गर्ने काम भयो । घर, कार्यालय, सार्वजनिक सम्पत्तिमा तोडफोड, आक्रमण र आगजनी गरियो’, देउवाले शनिबार लुम्बिनीमा भएको एक कार्यक्रममा भनेका थिए, ‘यसैबाट प्रस्ट हुन्छ कि पूर्वराजा ज्ञानेन्द्रले राजा नहुँदा त यस्तो हर्कत गर्दैछन्, भए झन् के गर्लान् ?’ 

अरू नेताहरूले पनि सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म पूर्वराजाकै योजनाकार रहेर प्रदर्शनलाई अराजक बनाएको भनेर आलोचना गरेका छन् । पूर्वराजाले नै कमान्डर बनाएका दुर्गा प्रसाईंले राजावादीको कार्यक्रमलाई अराजक बनाएको सरकार र दलहरूले आरोप लगाएका थिए । आन्दोलनमा अराजकता निम्त्याएका प्रसाईं चैत १५ यता फरार छन् ।

तर, शेखरले कुनै प्रतिक्रिया दिन आवश्यक ठानेनन् । यस अगाडिका गतिविधि हेर्दा शेखरको स्वभाव यस्तो छैन । सामान्य घटनामा पनि फेसबूक, ट्विटर सबैतिर मत जाहेर गरिहाल्थे । 

पार्टीभित्रको प्रतिपक्षको शैलीमा शेखर प्रस्तुत हुँदै आएका छन् । पार्टीको लाइनविपरीत सरकारको आलोचना गर्न पनि उनी पछि पर्ने गरेका छैनन् । अघिल्लो साता सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने गरी गरेको निर्णयको शेखरले खुलेर विरोध गरेका थिए । सरकारको कदमलाई शेखरले कुशासनको कडीसम्म भनेका थिए । 

‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी ः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले,’ हटाएलगत्तै शेखरले लेखेका थिए, ‘नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’

त्यो घटनापछि शेखरले घोडेजात्रा र इद उल फित्रको शुभकामना दिइसकेका छन् । काठमाडौंको तीनकुने आसपासमा अराजक एवं हिंस्रक प्रदर्शन भएको ५ दिन भएको छ । तर, शेखरले चलाउने सामाजिक सञ्जालमार्फत यस विषयमा कुनै टिप्पणी सार्वजनिक भएको छैन । यति गम्भीर र देश नै तरंगित भएको घटनामा शेखर नबोलेपछि सामाजिक सञ्जालमै शेखरप्रति रोष प्रकट भएको छ । 

‘सरकारले सामान्य निर्णय गर्दा पनि सरकारको विरुद्धमा आफ्नो अभिव्यक्ति दिने शेखर कोइराला राजावादी अराजक तत्त्वहरूले त्यत्रो लुटपाट, हत्या–हिंसा गर्दा पनि मौन बस्नुले कतै राजावादी आन्दोलनमा शेखर कोइरालाको पनि मौन समर्थन छ कि भन्ने आभास भएको छ,’ धनञ्जय मिश्र नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘खबरदार, नेपाली कांग्रेसका आमकार्यकर्ताहरू समुन्नत लोकतन्त्रको पक्षमा छन् ।’

null

१४ औं महाधिवेशनदेखि अलग गुटको अभ्यास गर्दै आएका शेखर बाहेकका थोरै नेताले मात्रै राजावादीको प्रदर्शनबारे बोलेका छन् । नेता चन्द्र भण्डारीले सरकार र राजावादीको नाम नलिई अराजक प्रदर्शन भन्दै विरोध गरेका थिए । 

‘भर्चुअल राष्ट्रमाथि राज गर्ने हो र ? राज गर्न त फिजिकल राष्ट्र नै चाहिएला नि ? जनधन, भूमि, कानून र सबैभन्दा महत्त्वपूर्ण नेपाली मन र आत्मा होला नि ?,’ भण्डारीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजको अराजकताको हृदयविदारक घटनाको घोर भर्त्सना गर्दछु । देश रहे हामी रहने हो, जय नेपाल ।’

शेखर पक्षका अरू नेताले पनि सो घटनाबारे प्रतिक्रिया दिन आवश्यक ठानेका छैनन् ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले पार्टीले औपचारिक रूपमा बोलेपछि कुनै प्रतिक्रिया नदिएको बताए । ‘चैत १५ गतेको विषयमा पार्टीले औपचारिकरूपमा बोल्यो । पदाधिकारी बैठकले पनि निर्णय गर्‍यो । महामन्त्रीहरूले विज्ञप्ति निकाल्नुभयो,’ थपलियाले भने, ‘पार्टीले बोलेको विचार नै आधिकारिक हो । त्योभन्दा फरक विचार उहाँको छैन ।’ 

शेखरनिकटका एक केन्द्रीय सदस्यले शेखरको मौनताबारे प्रतिक्रिया दिन चाहेनन् ।

राजावादीको विरोध प्रदर्शनकै भोलिपल्ट देउवाले बूढानीलकण्ठस्थित निवासमा पदाधिकारीहरूको बैठक बोलाएका थिए । सो बैठकमा शेखरले सुरक्षा प्रबन्ध राम्रो बनाउन नसकिएको बताएको एक नेताले जानकारी दिए । 

‘शेखर दाइले बाहिर बोल्नुभएको छैन । तर, पदाधिकारी बैठकमा उहाँले सुरक्षा प्रबन्ध प्रभावकारी बनाउन नसकेको कुरा बैठकमा उठाउनुभयो । हामीले राम्रो काम गरेका छौं भन्ने म्यासेज दिनुपर्छ भन्ने उहाँको कुरा थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘राजावादीको समर्थन उहाँले गर्नुभएको छैन, तर गणतन्त्रवादीले नतिजा नदिँदा उनीहरूलाई ठाउँ मिलेको उहाँको भनाइको सार थियो ।’ 

पदाधिकारी बैठकले चैत १५ गते काठमाडौंमा भएको वितण्डाको जिम्मा पूर्वराजाले लिनुपर्ने निर्णय गरेको थियो । बैठकले सबै गणतन्त्रवादीहरूलाई कांग्रेसले अगुवाइ गरेर छलफल कार्यक्रम राख्ने निर्णय पनि गरेको सहमहामन्त्री महेन्द्र यादवले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्