
यही चैत ३ गतेबाट सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम मंगलबार समापन भएको छ ।
रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कूल २९ जना उक्त तालिममा सहभागी थिए ।
तालिम समापन समारोहमा रक्षामन्त्री मानवीर राईले नेपालको संविधानले निर्देशित गरेको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहुजाती, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा प्रधानसेनापति अशोक राज सिग्देलले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण सहभागीलाई बधाई तथा धन्यवाद दिए । उनले यस किसिमको तालिमबाट राष्ट्रिय सुरक्षाको क्षेत्रमा विभिन्न निकायबीच सहकार्य र समन्वय भई एकीकृत प्रयासमा साझा धारणा निर्माण हुने बताउँदै सुरक्षा नीतिहरूको सफल कार्यान्वयन गर्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
तालिमका क्रममा चैत १४ गते राज्य सञ्चालनमा सु-शासनका संयन्त्रहरू र नेपालको वर्तमान अवस्था विषयक राष्ट्रिय स्तरको एक दिवसीय उच्चस्तरीय सेमिनार समेत सञ्चालन भएको थियो।
सैनिक कमान्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालको स्वागत मन्तव्यबाट शुरू भएको समापन समारोहमा पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराज, पूर्वप्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्द अन्य सुरक्षा निकायका प्रतिनिधि, अधिकृत तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइमा एकरूपता कायम होस् भन्ने उद्देश्यले २०७२ सालबाट शुरू भएको यस तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भइसकेका छन्।