
रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा यही चैत ३ गतेदेखि सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सम्पन्न भएको छ ।
तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट गरी २९ जना सम्मिलित थिए ।
तालिमको समापन समारोहमा रक्षामन्त्री मानवीर राईले नेपालको संविधानले निर्देशित गरेको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्नेमा जोड दिए । उनले बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायहरूमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै सुरक्षा प्रणालीलाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रधानसेनापति अशोकराज सिग्देलले यस किसिमको तालिमबाट राष्ट्रिय सुरक्षाका क्षेत्रमा विभिन्न निकायबीच सहकार्य र समन्वय भई एकीकृत प्रयासमा साझा धारणा निर्माण हुने उल्लेख गरे ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा पूर्व प्रदेश प्रमुख, पूर्वप्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।