
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन ।
आठ दशमलव सात किलोमिटर ट्र्याक खोलेर सडक कालोपत्रका लागि विसं २०७७ असोज २० मा शिलान्यास गरिएको थियो । बागमती प्रदेश सरकारको सहयोगमा सडक निर्माण सुरु भएको थियो ।
सडक निर्माणले निरन्तरता नपाउने र काम गरेका मजदुरको ज्यालासमेत भुक्तानी नगरेपछि कामले गति लिनसकेको छैन । स्थानीय लीलाध्वज ग्लानले ठेकेदार नियमित नआउने, कामदारले काम गरेको पैसा नपाएका कारण पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको बताए। पछिल्लो दुई महिनादेखि काम ठप्प रहेको उनले बताए ।