
गत फागुन ८ गते ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले दूधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी निर्देशक विमल गुरुङलाई जिम्मेवारीबाट हटाउनू भन्दै विद्युत प्राधिकरणलाई पत्र लेख्यो ।
मन्त्री र मन्त्रालयबारे सामाजिक सञ्जालमा जथाभावी लेखेका गुरुङलाई 'गैर-जिम्मेवार' बनेको भन्दै मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेखेका थिए ।
'विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूकाबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सोको जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ,' पत्रमा भनिएको थियो ।
तर, त्यतिबेला सरकारसँग टसलमा रहेका घिसिङले गुरुङलाई उक्त जिम्मेवारीबाट हटाएनन् । गुरुङले बारम्बार आफू घिसिङको 'दाहिने हात' भएको दाबी गर्दै आएका छन् । प्राधिकरणमा नयाँ एमडी बनेर आएका हितेन्द्रदेव शाक्यले केही दिनअघि उपकार्यकारी निर्देशक र निर्देशकहरूको सरुवा गरे तर मन्त्रालयले दुई महिनाअघि नै जिम्मेवारीबाट हटाउन भनेका गुरुङ अहिले सोही कुर्सीमा बसिरहेका छन् ।
मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले यसबारे आफूलाई केही थाहा नभएको बताए । 'यसबारे पछिल्लो अपडेट मलाई थाहा छैन,' उनले भने ।
यता प्राधिकरणको उच्च तह पनि पनि मन्त्रालयको निर्देशनलाई लिएर अन्योलमा छ । एक उच्च तहका कर्मचारीले लोकान्तरसँग भने, 'पछिल्लो समय मन्त्रीज्यूसँग कुरा मिल्यो भनेर विमल गुरुङले नै भन्नुभएको थियो । मन्त्रालयले त्यतिबेला निर्देशन दिएपछि थप खोजीनीति पनि गरेको छैन ।'
गुरुङले ऊर्जामन्त्री दीपक खड्कालाई 'विचौलिया' र वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलाई 'कुपात्र' भन्दै सामाजिक सञ्जाल फेसबूकमा अमर्यादित टिप्पणी गरेका थिए ।
एकपटक होइन, पटक-पटक सामाजिक सञ्जालमा मन्त्रीलाई गाली गरेर लेख्न थालेपछि मन्त्रालयले चासो व्यक्त गरेको थियो । त्यसपछि प्राधिकरणलाई पत्र लेखेर उनलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको थियो ।
पढ्नुहोस् यो पनि :
प्राधिकरणका कर्मचारीले मन्त्रीलाई 'बिचौलिया' र ऊर्जाविज्ञलाई 'खलपात्र' भनेपछि...
