
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीनकुने घटनाको स्वतन्त्र छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाउँदै सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित छानबिन आयोग गठन गर्न माग गरेको हो ।
राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा पनि माग गरेको छ । छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने राप्रपाको माग छ ।
यस्तै, राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्शेर राणालगायत अन्यमाथिको झुटा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ गर्न पनि माग गरिएको छ । यसैगरी, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नसमेत माग गरिएको छ ।
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था पक्षधरले गरेको अराजक आन्दोलनमा दुई जनाको ज्यान जानुका साथै घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

