
प्रेस सेन्टर, नेपालले काठमाडौंको तीनकुने घटनाका दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आगजनीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको घरमा पुगेर रजकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै सेन्टरको टोलीले यस्तो माग गरेको हो ।
सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा निवर्तमान महासचिव सन्तोष पौडेल र नवनिर्वाचित महासचिव मनोज घर्तीमगर सहितको टोली बिहीबार रजकको घरमा पुगेको हो ।

त्यसक्रममा अध्यक्ष गिरीले रजकको मृत्यु नभएर हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको प्रष्ट पारे ।
रिपोर्टिङका क्रममा 'अन द स्पोट' ज्यान गएकोले रजकलाई शहीद घोषणा गर्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने परिवारजनको माग छ ।
अध्यक्ष गिरीले आफूहरू परिवारजनको साथमा रहेको र रजकको न्यायका लागि संगठनको ऐक्यबद्धता रहने बताए ।
सेन्टरले १० हजार रुपैयाँ सहयोगसमेत गरेको छ ।