
राजावादीहरूले गत शुक्रबार तीनकुनेमा गरेको अराजक प्रदर्शनमा सुरक्षा कमजोरी भएको विषय जोडतोडले उठिरहेको छ । एकातिर प्रहरीले अराजकता रोक्न नसकेको भनेर आलोचना भइरहेको छ भने अर्कातिर धेरै बल प्रयोग गरेको भनेर विरोध हुन थालेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बुझाएको ५ बुँदे ज्ञापनपत्रको दोस्रो बुँदामा गृहमन्त्रीको राजीनामासँगै दमनको नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बनको माग गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी फिल्डमा खटिएका प्रहरीको कमजोरीका सम्बन्धमा छानबिन हुने प्रस्टीकरण दिएको छ । तीनकुने घटनामा प्रहरी र गुप्तचरीका लागि खडा गरिएको राष्ट्रिय अनुसन्धान विभागको सूचना संयन्त्र अत्यन्तै कमजोर देखियो ।
गृह प्रशासनले आन्दोलनकारीको कमान्ड सम्हाल्ने पात्र दुर्गा प्रसाईँको विगतका अभिव्यक्ति र कार्यशैलीलाई नजरअन्दाज गरेको प्रस्ट देखिन्छ । उदण्ड र अराजनीतिक प्रसाईंको कमान्डमा प्रदर्शन हिंसात्मक हुन सक्ने कुरालाई नजरअन्दाज गर्दा दर्जनौं घरका शिशा फोडिए । आगजनी भयो । लुटपाट भयो । हिंसात्मक बन्न पुगेको प्रदर्शनकै कारण पत्रकार सुरेश रजकसहित दुईजनाले अनाहकमा ज्यान गुमाउनुपर्यो । प्रहरीको गोली लागेर १९ जना घाइते भए ।
गृह प्रशासनको पहिलो कमजोरी प्रदर्शनस्थल नै ठीक भएन । दोस्रो कमजोरी प्रदर्शनकारीलाई सुरक्षा घेराभित्र राख्न नसक्नु रह्यो ।
प्रदर्शन गर्नुपूर्व प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको र अन्तिम घडीमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले समेत प्रदर्शनलाई सघाउने निर्णय गरेको अवस्थामा प्रदर्शन हिंसात्मक नहुने प्रशासनको बुझाइ नै गलत थियो ।
समग्रमा हेर्दा सरकार, सुरक्षा संयन्त्र र गुप्तचरको कमजोरीले हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न सकेन । नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थल, दुईवटा मिडिया हाउस र प्रदर्शनस्थलअगाडि नै शिशैशिशाका घरहरू हुँदाहुँदै सुरक्षाकर्मी परिचालनमा कमजोरी देखियो ।
अराजक भीडले तत्काल निर्णय लिने विगतका घटनाले पनि देखाएको थियो । भारतीय अभिनेता ऋतिक रोशन काण्डले मच्चाएको उत्पात र इराकमा १२ जना नेपालीको पाशविक हत्यापछिको प्रदर्शनलाई गृह प्रशासनले नजिरको रूपमा हेर्नुपर्थ्यो । तर, त्यो गरेन ।
प्रदर्शनको नेतृत्वमा नवराज सुवेदी देखिएपनि कमान्डर अराजक दुर्गा प्रसाईं थिए । प्रहरीले ‘सामान्य राजनीतिक भाषण हुने त हो नि’ भनेर हल्का रूपमा लिँदा असामान्य परिस्थिति सिर्जना हुन पुग्यो ।
फिल्डमा सयौंको संख्यामा सुरक्षाकर्मी खटाए पनि भीडको मनोवृत्ति बुझ्न नसक्दा अराजकताले सीमा नाघ्ने गर्छ ।
तीनकुनेमा प्रहरीले न व्यक्तिको निजी सम्पत्ति जोगाउन सक्यो, न मानिसको जिउज्यानको सुरक्षा । प्रदर्शनस्थलमा शुरूदेखि नै प्रहरीले ‘एरिया क्लियरेन्स’ गर्दै गएको भए त्यो परिस्थिति आउने थिएन । प्रहरीले सार्वजनिकरूपमा नभने पनि प्रदर्शनकारीको भीडमा ‘घुसपैठ’ भएको आन्तरिक रिपोर्टिङ छ । यस्ता प्रदर्शनमा घुसपैठ हुन सक्ने आशंका गर्दागर्दै पनि सुरक्षा लापरबाही हुनु दुःखद् हो ।
भाटभटेनी सुपरमार्केट लुटिएको सूचना पुग्दा पनि प्रहरी नपुग्नु, जडिबुटी प्रशासन केन्द्रमा तोडफोड र आगजनी हुँदा घण्टौंसम्म प्रहरी नपुग्नु, सहकारीको भवनमा पत्रकार रजक ‘ट्रयाप’ परेको सूचना पुग्दा ‘रेस्क्यु’ गर्न नसक्नु र प्रसाईंले प्रहरीलाई किचेर मारौंला झैं गरेर प्रहरी घेरा तोड्दा समेत उनलाई छाड्नु त्यो दिनको गम्भीर लापरबाही हो । अहिले प्रसाईं फरार छन् ।
गृह प्रशासनले जतिसुकै ढाकछोप गरे पनि त्यो दिन प्रहरी चुकेकै हो । नागरिकमाथि गोलीको वर्षा गराउँदा मृतक र घाइतेका आफन्तको घाउमा मल्हम लगाउने काम सरकारले गर्नुपर्छ ।
तत्कालको घटनालाई कसरी साम्य पार्ने भनेर प्रहरीले रणनीति परिवर्तन गर्नुपर्ने हुन्छ । अराजक भीडले तोडफोड र आगजनी गर्न सक्छन् भन्ने अनुमान गरेर प्रहरी त्यहीअनुसार परिचालन गर्न सक्नुपर्छ ।
विगतमा केही अभ्यास यस्ता पनि थिए कि प्रदर्शनकारीका संयोजकलाई पहिल्यै भेटेर प्रहरीले चेतावनीस्वरूप शान्तिपूर्ण प्रदर्शन गर्न भन्थ्यो । योपटक प्रसाईंलाई त्यो सन्देश पुगेन वा प्रहरीले प्रयास नै गरेन !
अहिलेका काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी विगतमा काठमाडौंका कुनै लाइन (परिसर, वृत्त र प्रभाग)मा बसेर काम गरेका अनुभवप्राप्त अधिकृत होइनन् । तर, गृह प्रशासनले आवश्यक ठान्दा जुनसुकै युनिटका प्रहरीलाई त्यहाँ खटाउन सक्थ्यो ।
अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठोर, अर्का एसएसपी वसन्त रजौरे (अधिकारी अघिका काठमाडौं प्रहरी प्रमुख) लाई गृह प्रशासनले प्रदर्शनस्थलमा खटाउन सक्थ्यो । तर, त्यो आवश्यक ठानेन ।
संख्याको बल देखाएर प्रदर्शनकारीलाई रोक्न सक्छु भन्ने दम्भबाट माथि उठ्न नसक्दा तीनकुने प्रदर्शन अराजक बन्दा पनि नियन्त्रण हुन सकेन । प्रहरी अधिकृत क्षमतावान मात्रै भएर हुँदैन, फिल्ड कमान्डमा प्रखर हुन अनुभव चाहिन्छ । त्यो अनुभव एसएसपी अधिकारीमा थिएन ।
तत्काललाई मत्थर भएको राजावादीको प्रदर्शन पुनः हुन सक्छ । अब हुने प्रदर्शन पनि अराजक नहोला भन्न सकिने अवस्था छैन ।
गृह प्रशासन र सुरक्षा निकायका प्रमुखहरूले विगतबाट पाठ सिकेर त्यहीअनुसार सुरक्षाकर्मी परिचालनमा ध्यान दिनुपर्ने देखिन्छ । कडा रणनीति बनाउनुपर्ने देखिन्छ ।