
मधेश केन्द्रित सात दलले संघीय लोकतान्त्रिक मोर्चा गठनमा हस्ताक्षर गरेका छन् ।
जसपा नेपाल संसदीय दलको कार्यालयमा बिहीबार बिहान ९ बजेदेखि बसेको बैठकमा मोर्चाको १५ बुँदे अवधारणा र आचारसंहिताको १३ बुँदामा हस्ताक्षर भएको हो ।
अवधारणापत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य समस्याका कारण उपस्थित नभएका तमलोपा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरका लागि अवधारणापत्र उनको निवासमै पठाइएको थियो ।
मोर्चामा जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी छन् ।
मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने, संविधान संशोधन गर्न, विगतको मधेशी मोर्चासँग ८ बुँदे सहमति कार्यान्वयन गराउने दबाब दिने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र कार्यान्वयन गराउन मोर्चाले दबाब दिने जनाएको छ ।
अवधारणापत्रमा मोर्चामा आबद्ध दलहरूले आलोपालो बैठकको अध्यक्षता गर्ने समझदारी पनि गरेका छन् । मोर्चाले सहमति गरेका कार्यक्रमलाई साझा रुपले मान्ने उनीहरूको भनाइ छ ।
उनीहरूबाट मोर्चाबाट स्वतन्त्ररूपले बाहिरिन सक्ने र भित्रिन सक्ने समझदारी पनि गरेका छन् ।
बैठकमा सवेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि सहभागी भएका थिए ।
जनमत पार्टीका अध्यक्ष सिके राउत केहीबेर सहभागी भएर बाहिरिएका थिए ।



