२७ असार २०८३, शनिबार

संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्छ : कोइराला

चैत २१, २०८१
काठमाडौं
संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको ‘बूढगङ्गा पार्क’को आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको धारणा राखे ।  

उनले समस्याको समाधानका  नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी स्वीकार्य नहुने विचार राखे । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले काठमाडौँमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने बताए । 

उनले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई बलियो र दिगो बनाउन राजनीतिक दलहरुभित्र सुधार हुनु आवश्यक रहेको धारणा राखे । नेता कोइरालाले भने, “दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन, आर्थिक विकास, सुशासन तथा रोजगारी सिर्जना गर्नतर्फ संवेदनशील हुनु जरुरी छ ।”

बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले यसक्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पार्क निर्माण गर्न लागिएको बताए। सिङ्गिया खोलाको किनारका चार विघा क्षेत्रफलमा रु २१ करोड पार्क निर्माण गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मगरले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्